२०८१ भाद्र २८ शुक्रबार

सुरुङ्गा शाखा : टेलिकमका लेखा अधिकृत ५१ दिनदेखि सम्पर्कविहीन

विराटनगर । नेपाल टेलिकमको झापास्थित सुरुङ्गा शाखाका लेखा अधिकृत एवं निमित्त प्रमुख ३१ वर्षीय दिलिप सुवेदी ५१ दिनदेखि सम्पर्कविहीन छन् ।

झापाको कन्काई नगरपालिका-३ स्थित कार्यालयको क्वाटरबाटै भदौ ३० गतेदेखि बेपत्ता भएका उनी अझै फेला परेका छैनन्। खोटाङको हलेसी-तुवाचुङ नगरपालिका स्थायी ठेगाना भई विराटनगर महानगरपालिका-४ राजवंशी चोकमा बस्दै आएका दिलिपको अवस्था अज्ञात छ। बेपत्ता भएपछि परिवारले सम्भव भएसम्म सबैतिर खोजी गरे। प्रहरी गुहारे। तर अझैसम्म केही पत्तो लागेको छैन।

दिलिप बेपत्ता भएपछि पीडामा परेको परिवारले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै खोजीका लागि हारगुहार गरेको छ। बुवा नेत्रप्रसाद र दाजु लक्ष्मीप्रसाद सुवेदीलगायतले पत्रकार सम्मेलनमार्फत दिलिपको खोजीमा सहयोग गरिदिन आग्रह गरेका हुन्। छोरा बेपत्ता भएदेखि नै पीडामा रहेका बुवा नेत्रप्रसाद सम्हालिन सक्ने अवस्थामा छैनन्।

भुल्नै नसक्ने पीडामा परेका उनले रुँदै छोराको खोजीका लागि सहयोग गर्न सबैसमक्ष अनुरोध गरे। दाजु लक्ष्मीप्रसादले हराएको लामो समयसम्म भाइको अत्तोपत्तो नभएको बाताए। ‘भाइ हराएपछि तनावमा रहेका परिवारका सदस्यले खोजीका लागि सबै प्रयास केन्द्रित गरिसक्यौं,’ उनले भने, ‘तत्काल प्रहरीलाई घटनाको जानकारी गराएर सबैतिर सोधखोज गरिरहेका छौं।’ भाइका हराएपछि परिवारमा बज्रपात परेको र अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको लक्ष्मीप्रसाद बताउँछन्।

परिवारका सदस्यले दिएको जानकारी अनुसार दिलिप भदौ ३० गते बिहान ६:३० बजेतिर कार्यालयकै सुरक्षागार्ड ओमप्रकाश खरेलसँग चिया खान स्कुटरमा निस्किएका थिए। ‘चिया पिएर दुवै जना करिब ७ बजे कार्यालयमा आएको भनिएको छ। त्यसपछि कार्यालयकै माथिल्लो तलाको ‘गेस्ट हाउस’मा आराम गर्छु भनेर भाइ गएकोसम्म जानकारी भयो,’ लक्ष्मीप्रसाद भन्छन्, ‘त्यहाँबाट म आफ्नै ड्युटीतिर लागें भनेर सुरक्षागार्डले भनेका छन्। बिहान ८:२० बजेदेखि ८:४७ बजेसम्म करिब २७ मिनेटजति बुहारी (दिलिपकी पत्नी) बजुना भट्टराईसँग मोबाइलबाट भिडियो कलमा कुराकानी भएको देखिन्छ।’

कपडा धोएर र खाना खाएर पुन: कुरा गरौंला भन्दै बुहारीसँग बिदा मागेका भाइको मोबाइल त्यसपछि ‘अफ’ रहेको र सम्पर्क हुन नसकेको उनले बताए। ‘दिनभर प्रयास गरेपनि सम्पर्क हुन नसकेपछि साँझ ६ बजेतिर बुझ्न लगायौं। तर, बिहान कार्यालय प्रवेश गरेपछि निस्किएको देखिन भनेर सुरक्षागार्डले भने,’ लक्ष्मीप्रसाद भन्छन्, ‘भाइले चलाउने स्कुटर कार्यालयभित्रै छ। चाबी, चस्मा, पर्स, एटीएम कार्ड, चप्पल, कपडालगायत कोठाभित्रै भेटियो।’ उनले तत्काल घटनाको जानकारी गराएको र प्रहरीमा भोलिपल्ट हुलियासहितको जाहेरी दिएको बताए। भने, ‘कार्यालयबाटै हराएको भाइ अहिलेसम्म नभेटिनुले घटना रहस्यमय र शंकास्पद छ।’

उनले घटनाका बारेमा प्रहरी अधिकारीलगायत सरोकारवालालाई भेटेर जानकारी गराइसकिए पनि अहिलेसम्म अवस्था पत्ता नलागेको बताए। लक्ष्मीप्रसादका अनुसार चारैतिर तारले घेराबारा गरिएको र ठूलो पर्खाल रहेकाले कार्यालयको ढोकाभन्दा अन्यत्रबाट बाहिर निस्किने ठाउँ छैन। उनले अनुसन्धानलाई प्रहरीले परिवार केन्द्रित मात्रै गरेकाले नतिजा हात पर्न नसकेको गुनासो पोखे। ‘पारिवारिक कारणले आफैं हिँडेको हो भनेर प्रहरीले भन्ने गरेको छ। तर, अहिलेसम्म न सास भेटिन्छ, न त लास नै,’ लक्ष्मीप्रसाद भन्छन्, ‘कार्यालयबाट बाहिर निस्किएको सुरक्षागार्डले नदेख्नु र टेलिकमका कर्मचारीले वास्ता नगर्नुले पनि घटना शंकास्पद छ। प्रहरीको अनुसन्धानबाट हालसम्म कुनै नतिजा नआउँदा हामी परिवारका सदस्य ठूलो पीडामा छौं।’

उनका अनुसार कोहीसँग पनि पुरानो रिसईबी भएको थाहा छैन। पारिवारिक समस्या पनि छैन। तर, कसैले नियन्त्रणमा लिएर लगेको हुनसक्ने उनी बताउँछन्। बेपत्ता भएको दिन भाइ दिलिपले आफ्नी श्रीमती र सुरक्षागार्डसँग मात्रै फोन सम्पर्क गरेको पाइएको लक्ष्मीप्रसादको भनाइ छ।

दिलिपले नाम निकालेर फागुनदेखि टेलिकममा काम गर्न थालेका हुन्। बेपत्ता भएदेखि नै उनले प्रयोग गर्ने मोबाइल ‘स्वीचअफ’ छ। उनले बजुनासँग फागुनमै बिहे गरेका थिए। बिहे गरेको ६ महिनामै पति बेपत्ता भएपछि बजुनालाई ठूलो बज्रपात परेको छ। लक्ष्मीप्रसादका अनुसार भावविह्वल अवस्थाकी उनी एकोहोरो टोलाइरहन्छिन् र बर्बराउँछिन्। पतिको खोजीका लागि सहयोग माग्दै सबैतिर हारगुहार गर्छिन्।

‘खै के भयो भयो। यस्तो होलाभन्ने सपनामा पनि सोचेको थिइँन,’ सातो हराएझैं भएकी बजुना भन्छिन्, ‘उहाँ (पति) कहाँ हुनुहोला, के अवस्था होला भन्ने पीरले भोक निद्रा सबै हराएको छ। चिनेजानेसम्मका आफन्त, साथीभाइसँग सम्पर्क गरेर सोधीखोजी गर्दा पनि अत्तोपत्तो छैन।’ बेपत्ता पति सकुशल पाउनका लागि उनी भगवानसँग पनि बारम्बार प्रार्थना गर्छिन्।

पतिबारे केही न केही जानकारी आए हुन्थ्यो भन्ने बजुनालाई लागिरहन्छ। सम्पर्क भइहाल्छ कि भनेर पतिको ‘स्वीचअफ’ रहेको मोबाइलको नम्बर उनी डायल गरिरहेकी हुन्छिन्। ‘उहाँको मोबाइल ‘अफ’ छ। जति नम्बर थिचेपनि सम्पर्क हुन सक्दैन,’ भक्कानिँदै उनले भनिन्, ‘तर, मन मान्दैन। बा लागिहाल्छ कि भनेर मेरा औंला उहाँको नम्बर ‘डायल’ गर्न छाड्दैनन्।’

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय विराटनगर कोशी प्रदेशका प्रशासन प्रमुख रामबहादुर बुढाथोकी दिलिप बेपत्ता भएदेखि नै अवस्था पत्ता लगाउन अनेक प्रयत्न गरिएको बताउँछन्। ‘उहाँ हराउनेवित्तिकै सार्वजनिक सूचना जारी गरियो। प्रहरीलाई जानकारी गराइयो,’ बुढाथोकीले भने, ‘हामी निरन्तर प्रहरी प्रशासनको सम्पर्कमै छौं। तर, अहिलेसम्म अवस्था अज्ञात छ।’

घटनाप्रति चासो राख्ने र दिलिपको खोजीमा सहयोग गर्ने काम भइरहेको उनले बताए। ‘एक जना कर्मचारी हराउनु भनेको हामी समग्र कर्मचारीको चिन्ताको विषय हो। परिवारजत्तिकै हामी पनि चिन्तित छौं,’ बुढाथोकीले भने, ‘घटनाका बारेमा तपाईंहरुले चासो राख्नु स्वभाविक हो भनेर प्रहरीले भन्छ। निरन्तर खोजी गरिरहे पनि पत्ता लगाउन सकेका छैनौं भनेर जवाफ दिने गरेको छ।’

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले सम्भावित सबै ठाउँमा खोजी भइरहेको बताए। ‘अहिलेसम्म कुनै संकेत पाउन सकेका छैनौं। प्रहरीले आफ्नो ठाउँबाट गर्ने सबै काम गरिरहेको छ। खोजीमा कुनै कसर बाँकी राखिएको छैन,’ उनले भने, ‘प्रहरीको विशेष टोली नै दिलिपको खोजीमा केन्द्रित छ। कोशी प्रदेश प्रहरी कार्यालयले पनि सहयोग गरिरहेको छ। सबै ठाउँमा हुलियासहितको तस्बिर पठाएर खोजतलास जारी राखिएको छ।’ रिजालका अनुसार प्रहरी प्रयासरत रहेपनि कुनै उपलब्धी हासिल हुन सकिरहेको छैन। अन्नपुर्ण पोष्ट

२०८० कार्तिक १९, आईतवार प्रकाशित 1 Minute 210 Views

ताजा समाचार