भृकुटी । झापाको काँकरभिट्टामा केन्द्रिय कार्यालय रहेको आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) ले सदस्य सेवा केन्द्र भृकुटीका सदस्यलाई सम्मान गरेको छ ।
संस्थाको १२ औं सधारण सभा अन्तर्गत शनिबार (आज) बौद्धमोडमा आयोजित इकाईगत सधारण सभामा उत्कृष्ट सदस्यहरुलाई सम्मान गरेको हो ।
संस्थाले उत्कृष्ट बचतकर्तामा भेषराज कार्की, उत्कृष्ट ऋणीमा छलबहादुर सारु र उत्कृष्ट जेष्ठ सदस्यमा टंकमाया ओझालाई सम्मान गरिएको हो । सम्मानितहरूलाई कार्यक्रमका प्रमुख अतिथी आबसका सल्लाहकार समिति संयोजक अंगतबहादुर थापा, विशिष्ट अतिथि मेदनीप्रसाद खरेल, संस्थाका अध्यक्ष कमल थापालगायतले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।
प्रमुख अतिथि थापाले केही सहकारी सञ्चालकको गलत नियत र हल्लाले सहकारी क्षेत्रमा समस्या देखिएको बताए । सदस्यले सहकारीमा तिर्नुपर्ने ऋणको किस्ता र बचतलाई नियमित गरेर सहकारी अभियानलाई सफल बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष कमल थापाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले बाह्य ऋण भन्दा सदस्यको बचतलाइ बढी प्राथमिकता दिएको बताए । सदस्यलाइ बचतमा प्रोत्साहन गरी सदस्यलाई नै बढी लाभान्वित बनाउने नीति लिएको बताए ।
संस्थाका लेखा समिति संयोजक माधवलाल अर्यालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९/०८० मा संस्थाको कोष १ करोड ४२ लाख ६९ हजार ८ सय ६७ रुपैया पुगेको जानकारी दिए । यसैगरी, संस्थाको वार्षिक कार्यक्रम तथा बजेट व्यवस्थापक पारस ओलीले प्रस्तुत गरेका थिए ।
भृकुटी सेवा केन्द्र प्रमुख पवित्रा थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सेवा केन्द्रका उपसमिति सदस्य पुष्पलाल गुरागाईँले गरेका थिए ।
संस्था आजदेखि इकाईगत साधारण सभा सम्पन्न भएको छ । संस्थाको मंसिर ७ गते काँकरभिट्टामा अन्तिम माइन्युट प्रमाणिकरण भेला हुनेछ ।
काँकरभिट्टा, भद्रपुर, बिर्तामोड, भृकुटी र चारआली सदस्य सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको आधुनिक बचत तथा ऋण सहकारी संसथा लि. (आबस) मा हाल ८ हजार ५ सय १० जना शेयर सदस्य छन् ।