२०८१ आश्विन ४ शुक्रबार

नेपालले उपाधिका लागि आज ओमानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट उपाधिको लागि आज ओमानसँग खेल्ने भएको छ । नेपाल र ओमानबीचको फाइनल खेल टियु क्रिकेट मैदानमा बिहान–११ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै टि२० विश्वकपमा स्थान बनाएको छ । ओमानले पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा पुगेको हो ।

नेपाल र ओमान दुबैले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप खेल्नेछन् । नेपाल र ओमान समूह ए बाट सेमिफाइनल खेलेका थिए । समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो ।

नेपालले हालसम्म विश्वकप छनोटको उपाधि जितेको छैन । यसअघि नेपालले २०१८ मा एसिसी इस्टर्न सब रिजन टुनामेन्टको उपाधि जितेको थियो । नेपालले पहिलो पटक २०१४ मा बंगलादेशमा टि२० विश्वकप खेलेको थियो ।

त्यसपछि नेपालले विश्वकपमा स्थान बनाउन सकेको थिएन । नेपाल २०१५ र २०२१ मा ग्लोबल छनोटबाट बाहिरिएको थियो । २०१९ मा भने नेपाल एसिया क्षेत्रबाट नै बाहिरिएको थियो ।

२०८० कार्तिक १८, शनिबार प्रकाशित 0 Minutes 118 Views

ताजा समाचार