२०८१ जेष्ठ ४ शुक्रबार

गरिबदुःखीका आँगनमा पुग्ने राजन

झुलन रेग्मी
चारआली, १६ कात्तिक । हँसिला स्वभावका, धनी मन भएका राजन चिमरिया प्रायः दिनदुःखीका घरमा भेटिन्छन् । त्यो पनि सहयोगका भावना बोकेर गरिबका आँगनमा पुग्छन् । अनि भलाकुसारीसँग गर्छन् । सन्चो, बिसन्चो सोध्छन् । घरमा के खाँदैछन् । कस्तो छ स्वास्थ्य अवस्था ? यी सबै कुराको उत्तर एउटै पाउँछन्, ‘गाह्रो छ हजुर !’ हो पक्कै पनि उनीहरुको अवस्था दयनीय नै छ ।

तिनै गरिबको दुःखदायी जीवन देखेर राजन गरिबको सच्चा सारथी बनेका छन् । मेचीनगर-१२ निवासी उनी व्यवसायी हुन् । लामो समयदेखि डेरी व्यवसाय गर्दै आएका उनी कमाएको केही रकम गरिब दुःखीको सेवामा खर्च गर्दै आएका छन् । ‘सेवा नै धर्म हो,’ उनी भन्छन्, ‘गरिब परिवारको दुःखमा साथ दिनु नै सच्चा धर्म ठान्दछु ।’ उनले मेचीनगरका विभिन्न वडामा रहेका अति विपन्न परिवारको डाटा संकलन गरेका छन् । कुन परिवारको कस्तो अवस्था छ भन्ने वास्तविक विवरण उनीसँग छ । सायद स्थानीय सरकारसँग पनि यत्तिको तथ्यांक छैन होला । ‘म मेचीनगरका प्रत्येक वडामा घुमिरहेको छु,’ उनले भने, ‘घुम्ने क्रममा बाहिरबाट देखेजस्तो रहेनछ । गरिब परिवार पीडैपीडामा बाँचिरहेका छन् ।’

तिनै सामाजिक व्यक्तित्व राजन चिमरियाले यसबर्ष पनि सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएका छन् । नेपाल डेरी एसोसिएसनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) मेचीनगरका नगर अध्यक्षसमेत रहेका चिमरियाले शहिद परिवारलाई गाई र मृतकका परिवारलाई नगद सहयोग गरेर ५० औं जन्मोत्सव मनाएका हुन् ।

चिमरियाले बिहीवार (आज) पर्न गएको जन्मोत्सवका अवसरमा झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा बसोबास गर्दै आएका शहिद प्रेम उप्रेतीको परिवारलाई ६५ हजार रुपैयाँ बराबरको उन्नत जातको गाई र शहिद उप्रेतीका पिता गंगा उप्रेती बिरामी रहेकाले औषधिका लागि नगद ५ हजार एकसय रुपैयाँ प्रदान गरेका थिए ।

शहिद प्रेम उप्रेतीको २०५८ सालमा तेह्रथुमको बगाले घटनामा मृत्यु भएको थियो । रितिका डेरी उद्योगका सञ्चालकसमेत रहेका चिमरियाले शहिद परिवारलाई कृषि उत्पादनमा जोड्ने उदेश्यले जन्मोत्सवमा गाई प्रदान गरेको बताए । सोही कार्यक्रममा आफ्नो उद्योगबाट उत्पादित सामाग्रीसमेत शहिद प्रेमका पिता गंगा र आमा लक्षिमादेवी उप्रेतीलाई प्रदान गरेका थिए ।

त्यस्तै, जन्मोत्सवकै अवसरमा चिमरियाले मेचीनगर-१० मा गत कात्तिक १० गते दुर्घटनामा परेर मृत्यु भएका नरेश राजवंशीको परिवारलाई समेत आर्थिक सहयोग गरेका छन् । मृतक नरेशकी छोरी नाइसा राजवंशीको पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले बालिक संरक्षित कोषका लागि ५१ हजार र काजकिरिया खर्चबापत ५ हजार एकसय रुपैयाँ चिमरियाले आर्थिक सहयोग गरेका हुन् ।

संरक्षित कोषको लागि ५१ हजार रुपैयाँको चेक र नगद ५ हजार एकसय रुपैयाँ नरेशकी श्रीमती विमला र छोरी नाइसा राजवंशीसहित परिवारलाई प्रदान गरेका छन् । चिमरियाले त्यहाँ पनि उद्योगबाट उत्पादित दुग्ध सामाग्रीसमेत प्रदान गरेका छन् ।

चिमरियाले प्रत्येक वर्ष आफ्नो जन्मोत्सव र वैवाहिक बर्ष गाँठका अवसर पारेर सामाजिक कार्य गर्दै आएका छन् । उनले ३० बर्षको उमेरदेखि प्रत्येक बर्ष जन्मोत्सव र बैवाहिक बर्षगाँठमा कृषक, विपन्न, आगलागी पीडित, बाढी पीडितलगायतलाई सहयोग गरेर मनाउँदै आएका छन् । आउँदै गरेको बैशाख २७ गते बैवाहिक बर्षगाँठका लागि पनि नयाँ कार्य गर्ने चिमरियाले बताएका छन् ।

उक्त कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सल्लाहकार मुकुलचन्द्र राजवंशी (मोहन बा), पार्टीका मेचीनगर नगर सचिव ज्ञानेन्द्र घिमिरे, झापा जिल्ला सदस्य खगेन्द्र सिग्देल, पार्टीका मेचीनगर-१२ का अध्यक्ष पदम सुनुवार, मेचीनगर-१३ का अध्यक्ष पुरुषोत्तम सिग्देललगायतको उपस्थिति रहेको थियो । जन्मोत्सव र बर्ष गाँठमा गरिने फजुल खर्जलाई कटाएर चिमरियाले बर्षमा दुई पटक सामाजिक कार्य गर्दै आएका छन् ।

२०८० कार्तिक १६, बिहीबार प्रकाशित 1 Minute 781 Views

ताजा समाचार