२०८३ जेष्ठ २१ बिहीबार

कोशीमा नयाँ अभ्यास गरियो, हेरौं कसरी अघि बढ्छ: शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोशीमा नयाँ राजनीतिक अभ्यास गरिएको बताएका छन्।

कोइराला पक्षका कोशीका आठ जना कांग्रेस सांसदहरूले नेकपा (एमाले) सँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएका थिए।

कांग्रेसकै केही नेताले नेकपा माओवादी केन्द्रका नेताहरूसँग कोशीमा माओवादीकै इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन भनेपछि नयाँ अभ्यास गर्नु परेको कोइरालाले बताए।

‘कांग्रेसका नेताहरू नै माओवादी सामु गएर तिम्रो पार्टीको यो मानिसलाई मुख्यमन्त्री बनाऊँ भनेकोले कोशीमा नयाँ राजनीतिक अवस्था सिर्जना हुन पुग्यो,’ कांग्रेस कास्की क्षेत्र नम्बर १ को सम्मेलन उद्घाटन गर्दै बुधबार कोइरालाले भने, ‘कांग्रेसकै नेताले मुख्यमन्त्री माओवादीलाई दिने कुरा कसरी हामीले मान्न सकिन्छ? कोशीमा नयाँ अभ्यास गरियो, हेरौं कसरी अगाडि बढ्छ।’

तर केन्द्रमा भने अहिलेकै गठबन्धन जारी रहने उनले बताए। ‘केन्द्रमा भने अहिलेकै गठबन्धन जारी रहन्छ,’ कोइरालाले भने। कोशीमा अहिलेसम्म कांग्रेस र एमालेबाट मात्रै मन्त्री छन्। मुख्यमन्त्री कार्कीलाई राप्रपाबाहेक दलले विश्वासको मत दिएका थिए। तर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ गरिरहेका छन्।

कांग्रेसले आफ्नो सिद्धान्त त्यागेर व्यवहारवादी राजनीतिमा लागेकोले पार्टी कमजोर बनेको कोइरालाको भनाइ थियो। उनले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले जनताका पक्षमा काम गर्नुपर्ने बताए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट ९ जना मन्त्री छन्।

२०८० कार्तिक १५, बुधबार प्रकाशित 0 Minutes 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।