२०८१ जेष्ठ ४ शुक्रबार

कार्की मृत्यु प्रकरण: आफन्तद्वारा शव बुझ्न इन्कार, दोषीलाई कारबाहीको माग

झापा । कमल गाउँपालिका–६ का ३६ वर्षीय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म उनको शव नबुझ्ने आफन्तले अडान लिएका छन् ।

उनीहरूले कार्कीको मृत्यु अघिपछिका सबै तथ्यहरूलाई आधार बनाएर अनुसन्धानको घेरा फराकिलो बनाउन माग समेत गरेका छन् । मृतक कार्कीकी बहिनी अनिता कार्की कोइराला, पवित्रा बुढाथोकी, मामा खेमबहादुर बुढाथोकीलगायतले आज दमकमा पत्रकार सम्मेलन गर्दै कार्कीले आफूमाथि भएको अन्यायका विषयलाई लिएर समयमै प्रहरी कार्यालयमा पुगेपनि न्यायको अनुभूति हुन नसकेको तथ्य आफूहरूसँग रहेको बताए ।

घटनापछि वडाध्यक्ष नरेन्द्र भट्टराई फरार हुनु शङ्कास्पद रहेको आफन्तको बुझाई छ । उनीहरूले कार्कीमाथि उनकी पत्नी चाहना पोख्रेल, ससुरा पुण्यप्रसाद पोख्रेल र वडाध्यक्ष भट्टराईले समेत कुटपिट गरेको प्रमाण आफूहरूसँग सुरक्षित रहेको पनि बताए । वडाध्यक्ष भट्टराईसहित तीन जनाविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेपछि वडाध्यक्षको नाम हटाएर दुई जनाविरुद्ध मात्र प्रहरीले कानुनी कारबाही सुरु गरेको जानकारी आफूहरूले पाएको बताउँदै मृत्यु प्रकरणका दोषीहरूलाई उन्मुक्ति दिलाउने षडयन्त्र भइरहेको आरोप पनि लगाए । कार्की आइतबार साँझ गलामा डोरी लगाएको र डोरी काटेर तीन टुक्रा पारेको अवस्थामा घरमै फेला परेका थिए । पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।

दशैंको महानवमीका दिन कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप छ । दशै बिदामा घर आएका कार्कीमाथि श्रीमती,वडाध्यक्ष भट्टराईसहितले कुटपिट गरेको भन्दै दशैं टिका अर्थात् ७ कात्तिकमा इलाका प्रहरी कार्यालय दमकमा निवेदन समेत दिएका थिए । सो निवेदनमाथि प्रहरीले कात्तिक १२ गते छलफल गर्ने भनेपनि छलफल रोकिएको थियो । छलफल गर्ने भनिएकै दिन कार्कीको रहस्यमय मृत्यु भएको हो ।

जिल्ला वन कार्यालय पाँचथरमा कार्यरत उनी तीन वर्षदेखि ससुराली छेउमा घर बनाएर बस्दै आएका थिए । उनका एक जना नाबालिका छोरी भएको बताइएको छ । टाइम्स अफ प्रदेशबाट

२०८० कार्तिक १४, मंगलवार प्रकाशित 0 Minutes 161 Views

ताजा समाचार