२०८१ जेष्ठ ८ मंगलवार

मुलुकको तत्कालीन आवश्यकता व्यवस्थामा परिमार्जन र अवस्थामा परिवर्तन : महामन्त्री शर्मा

झापा, १४ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई तत्कालै नेपाल फर्किहाल्नुस् भन्ने परिवेश निर्माण भइनसकेको बताएका छन् ।

अमेरिकाको न्युयोर्कमा आइतबार सम्पन्न अन्तरक्रियामा बोल्दै उनले विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्किहाल्नुस् भन्ने कुरा भावनात्मक र सस्तो लोकप्रियता मात्रै हुने स्पष्ट पारे । नेपालको वर्तमान अवस्था र अबको बाटो नाम दिइएको सो कार्यक्रममा महामन्त्री शर्माले भने,“ नेपालको अहिलेको आवश्यकता व्यवस्थामा परिमार्जन र अवस्थामा परिवर्तन हो ।“ नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको सो कार्यक्रममा उनले नेपालमा लगानी गर्न गैरआवासीय नागरिकताको उपयोग वृहत्तर रूपमा गर्न जरूरी रहेको औंल्याए। महामन्त्री शर्माले जलविद्युत उत्पादन वृद्धि र वैदेशिक रोजगारको मर्यादा अभिवृद्धिमा जोड दिए ।

सो कार्यक्रममा सोसलिष्ट इन्टरनेशनलका अन्तर्राष्ट्रिय उपाध्यक्ष खगेन्द्र जिसी, एनआरएनए न्युयोर्क अध्यक्ष हेमन्त मल्ल, नेकपा एमाले निकट प्रवासी मञ्चका अध्यक्ष कृष्ण लामिछाने, नेकपा माओवादी केन्द्र निकट प्रवासी मञ्च अमेरिका – क्यानाडा प्रमुख याम लामा, आदिवासी जनजाती महासंघका अध्यक्ष टोमा लामा लगायतले बोलेका थिए । उनीहरूले नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिकालाई अझै विस्तारित र स्थापित गर्नु पर्ने धारणा राखेका थिए । नेपालको वर्तमान राजनीतिक, आर्थिक, सामाजिक अवस्थामा केन्द्रित रहेर सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपालका पुराना राजनीतिक दलसँग निकट प्रवासी संगठन आबद्ध पदाधिकारी, विभिन्न जातीय र धार्मिक संघसंस्था र न्युयोर्कमा रहेका नेपालीको सहभागिता रहेको महामन्त्री शर्माको सचिवालयले जनाएको छ ।

२०८० कार्तिक १४, मंगलवार प्रकाशित 1 Minute 133 Views

ताजा समाचार