
झापा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताएका छन्।
दसैं, तिहार लगायत चाडपर्वको अवसर पारेर शनिबार पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन्।

सभापति देउवाले पार्टी भित्रै कुनै समस्या भए तत्काल समाधान गर्ने समेत बताए। उनले आफूले पार्टी भित्र मेलमिलापको वातावरण बनाउने कोशिस गरिरहेको पनि बताए।
‘ठूला दल बिस्थापित गर्नुपर्छ भन्ने कुरालाई मैले सकारात्मक रूपमा लिएको छु। काम गर्नुपर्यो भन्नु राम्रो कुरा हो नि। चुनौती आएको छैन। ठूला दलका ठूला नेताहरू त आलोचनाका पात्र हुँदै हुन् त। आलोचना गर्ने कुरालाई खराब मानेकै छैन त यहाँ। आलोचना गर्नसम्म गर्नुस् न,’ उनले भने, ‘पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन। म मेलमिलाप गर्न खोजिराखेको छु। कहीँ समस्या छ भने समाधान गर्छु।
सभापति देउवाले ठूला दल बिस्थापित हुन्छन् भन्ने कुरा पनि सत्य नभएको बताए। सेतोपाटी