मेचीनगर । स्वास्थ्य, पर्यावरण, पर्यटन साथ र साइकल संस्कृति विकासको निम्ति साइकल भन्ने मुल नाराका मेची-महाकाली साइकल सुरु गरिएको छ ।
शनिबार एक कार्यक्रमका बिच मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा साइकल यात्रीहरुलाई शुभकामनासहित बिदाई गरिएको छ ।काँकरभिट्टास्थित हनुमान मन्दिरमा टिका लगाएर मेची-महाकाली यात्राका लागि साइकल यात्रीहरु प्रस्थान गरेको छन् ।
हिमालयन राईडर्स सोसाइटी हेटौंडाको समन्वयमा र सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको नेतृत्वमा झापाको मेचीनगरस्थित नेपाल-भारत सीमानाकाको मेची पुलबाट यात्रा सुरु भएको भ्रमण टोलीका लक्ष्मीचरण श्रेष्ठले जानकारी दिए । साइकल यात्रा टोलीमा हेटौंडाका ११ जना र बुटवलका २ जना रहेका छन् ।
टोलीमा श्रेष्ठसहित, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, दुर्गाप्रसाद लामिछाने, विकास बानियाँ, सीता श्रेष्ठ, सुशील चौधरी (बुटवल), सुरज खत्री (बुटवल) रहेका छन् । साइकल यात्रामा सहभागी सदस्यमध्ये श्रेष्ठ र भानुभक्त आचार्य दोस्रो पटक मेची-महाकाली साइकल यात्रा गर्दैछन् । व्यक्तिगत खर्चमा मेची-महाकाली साइकल यात्रा गर्न लागिएको हो ।
चेतनाथ आचार्य साइकल यात्रामा सहभागीमध्ये जेष्ठ सदस्य हुन् । आगामी दिनमा निर्माण गरिने यातायातका पूर्वाधारमा साइकल लेन, साइकल पार्किङ, अपाङमैत्री लेन समावेश गर्न सोसाइटीले सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ ।
२०५४ साल माघ महिनामा सामान्य साइकलमा हेटौंडाका ११ जनाले मेची-महाकाली यात्रा गरेका थिए । भिजिट नेपाल वर्ष १९९८ को अवसरमा हेटौंडाको शहीद स्मारकलगायतका पर्यटकीय स्थलको जानकारी दिनका लागि व्यक्तिगत खर्चमा उनीहरूले साइकल यात्रा गरेका थिए । ११ जनामध्ये २ जनाले पूर्वबाट हेटौंडासम्म साइकल यात्रा यात्रा स्थगित गरेका थिए भने ९ जनाले १६ दिन लगाएर मेची-काली साइकल यात्रा पूरा गरेका थिए ।
२५ वर्षअघिको पूर्व-पश्चिम राजमार्गको अवस्था र वर्तमान अवस्थामा निकै फरक आएको र अहिले गियरसहितको साइकल उपलब्ध भएका कारण १२ दिनभित्र यात्रा सम्पन्न गर्न सकिने यात्राका सदस्य तथा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य बताउँछन् ।
कार्यक्रममा निवर्तमान मेयर विमल आचार्य, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, यात्राका सदस्य तथा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाली पत्रकारहरूको प्रतिनिधित्व गर्दै मेचीमहाकाली साइकल यात्रा गर्ने नेपालको पहिलो पत्रकार मुक्ति पौडेलले स्वागत तथा साइकल यात्राको महत्व र यसको सार्थकताका बिषयमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल काँकरभिट्टाका डिएसपी रोहित घिमिरे, ट्रार्फिक पोष्ट काँकरभिट्टाका प्रहरी नायब निरीषक लिला श्रेष्ठ, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, उपाध्यक्ष जीआर धिताल, पत्रकार मोहन काजी, ज्ञानेन्द्र निरौला, विश्वास दाहाललगायतको उपस्थिति रहेको थियो ।
पञ्चमुखि हनुमान मन्दिरका अध्यक्ष आनन्द अग्रवाल र पण्डित श्री नेत्र प्रसाद भट्टराईले यात्रीहरूलाई खदा र मिठाई खुवाएर यात्रा सफलताको कामना व्यक्त गरेका थिए ।
निर्वतमान मेयर विमल आचार्यको प्रमुख आतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए ।