२०८१ माघ २६ शनिबार

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए

काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको लागि नेपाली टोलीबाट चार खेलाडी बाहिरिएका छन् । नेपालले विश्वकप छनोट खेल्ने १५ सदस्य टोली घोषणा गर्दा चार खेलाडी बाहिरिएका हुन् ।

त्रिकोणात्मक टि२० आई सिरिजबाट स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र युवा ब्याटर लोकेश बम बाहिरिएका हुन् । श्याम ढकालले त्रिकोणात्मक सिरिजमा मुलपानीमा युएईविरुद्ध डेब्यू गरेका थिए ।

उनले युएई र हङकङसँग खेल्ने अवसर पाएका थिए । सन्दीप लामिछाने नहुँदा लेग स्पिनरको रुपमा उनलाई नेपालले टोलीमा समेटेको थियो ।

तर सन्दीप फर्किएपछि उनले स्थान बनाउन नसकेका हुन् । त्यस्तै युवा ब्याटर लोकेश बम पनि टोलीबाट बाहिरिएका छन् । त्रिकोणात्मक सिरिजमा टोलीमा रहेपनि खेल्ने अवसर पाएका थिएनन् ।

उनलाई नेपालले प्रशिक्षणमा किपिङमा समेत अभ्यास गराएको थियो । नेपालले अन्तिम १५ मा विनोद भण्डारीलाई राख्ने निर्णय लिँदा लोकेश बाहिरिएका हुन् ।

सूर्य र सागरको भने टोलीमा स्थान बन्न सकेन । नेपालका दुई प्रमुख स्पिनर सन्दीप र ललित नारायण राजवंशी टोलीमा हुँदा उनीहरुको अन्तिम १५ मा स्थान बन्न नसकेको हो ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् ।

समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । (हाम्रो खेलकुद)

नेपालको टोली : 

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

२०८० कार्तिक ११, शनिबार प्रकाशित 0 Minutes 186 Views

ताजा समाचार