२०८१ असार ३१ सोमबार

मेची महाकाली साइकल यात्रा

मेचीनगर । मेची-महाकाली साइकल यात्राका लागि हेटौंडाका साइकलप्रेमी ११ सहित १३ जनाको टाेली शुक्रबार झापाको सीमावर्ती बजार मेचीनगर प्रस्थान गरेकाे छ । हेटौंडाबाट शुक्रबार बिहान झापाको काकडभिट्टा प्रस्थान गरेको साइकल यात्रा टोलीले शनिबार कोजाग्रत पूर्णिमाको दिन बिहान ८ बजे मेचीनगरस्थित नेपाल-भारत सीमानाकाको मेची पुलबाट साइकल यात्रा सुरु गर्ने भ्रमण टोलीका लक्ष्मीचरण श्रेष्ठले जानकारी दिए ।

साइकल यात्रा टोलीमा हेटौंडाका ११ जना र बुटवलका २ जना रहेका छन् । स्वास्थ्य, पर्यावरण, पर्यटन र साइकल संस्कृति विकासको निम्ति साइकल भन्ने सकारात्मक सन्देशका लागि हिमालयन राईडर्स सोसाइटी हेटौंडाको समन्वयमा साइकल यात्रा हुनेछ भने सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको नेतृत्वमा यात्रा हुन लागेको हो ।

टोलीमा श्रेष्ठसहित, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, दुर्गाप्रसाद लामिछाने, विकास बानियाँ, सीता श्रेष्ठ, सुशील चौधरी (बुटवल), सुरज खत्री (बुटवल) रहेका छन् । साइकल यात्रामा सहभागी सदस्यमध्ये श्रेष्ठ र भानुभक्त आचार्य दोस्रो पटक मेची-महाकाली साइकल यात्रा गर्दैछन् । व्यक्तिगत खर्चमा मेची महाकाली साइकल यात्रा गर्न लागिएकाे हाे ।

चेतनाथ आचार्य साइकल यात्रामा सहभागीमध्ये जेष्ठ सदस्य हुन् । आगामी दिनमा निर्माण गरिने यातायातका पूर्वाधारमा साइकल लेन, साइकल पार्किङ,अपाङमैत्री लेन समावेश गर्न सोसाइटीले सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।

२०५४ साल माघ महिनामा सामान्य साइकलमा हेटौंडाका ११ जनाले मेची-महाकाली यात्रा गरेका थिए । भिजिट नेपाल वर्ष १९९८ को अवसरमा हेटौंडाको शहीद स्मारकलगायतका पर्यटकीय स्थलको जानकारी दिनका लागि व्यक्तिगत खर्चमा उनीहरूले साइकल यात्रा गरेका थिए । ११ जनामध्ये २ जनाले पूर्वबाट हेटौंडासम्म साइकल यात्रा यात्रा स्थगित गरेका थिए भने ९ जनाले १६ दिन लगाएर मेची-काली साइकल यात्रा पूरा गरेका थिए ।

२५ वर्षअघिको पूर्व-पश्चिम राजमार्गको अवस्था र वर्तमान अवस्थामा निकै फरक आएको र अहिले गियरसहितको साइकल उपलब्ध भएका कारण १२ दिनभित्र यात्रा सम्पन्न गर्न सकिने यात्राका सदस्य तथा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य बताउँछन् ।

२०८० कार्तिक १०, शुक्रबार प्रकाशित 1 Minute 238 Views

ताजा समाचार