दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये चार जनाको शव शनिबार नेपाल ल्याइने भएको छ।
सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल ल्याइन लागिएको तेलअभिभस्थित नेपाली राजदूतावासले जनाएको छ।
दूतावासका अनुसार इजरायलबाट फ्लाइ दुबईको उडान नम्बर एफजेड- १२१० मार्फत दुबईसम्म र त्यसपछि फ्लाइ दुबईकै उडान नम्बर एफजेड- ८३५१ मार्फत काठमाडौंसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ।
उडान विवरण अनुसार शव कात्तिक ५ गते, आइतबार बिहान काठमाडौं पुग्नेछ।
इजरायलमा हमास समूहको आक्रमण परी दस जना नेपालीको निधन भएको छ। तीमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याइन लागिएको हो। सेतोपाटीबाट