झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकांक्षा भएको बताएका छन् ।
बडादसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वको अवसरमा आज गृहजिल्ला झापाको विर्तामोडमा आयोजित कार्यक्रममा उनले दसैँको सांस्कृतिक महत्त्वमाथि चर्चा गर्दै सबै नेपालीले दसैँलाई उल्लासपूर्वक मनाउने गरेको बताए ।
एमाले अध्यक्ष ओलीले जमरा र अक्षता लगाउने चलनले दसैँलाई विशिष्ट पहिचान दिलाएको उल्लेख गर्दै पारिवारिक र सामाजिकरूपमा टाढिएको सम्बन्धलाई पनि दसैँको टीका र आर्शिवाद ग्रहण गर्ने परम्पराले फेरि नजिक ल्याइदिने बताए ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले मुलुक आर्थिक दृष्टिले सङ्कटमा आइपुगेको चर्चा गर्दै यसको जिम्मेवारी वर्तमान गठबन्धन सरकारले लिनुपर्ने जिकीर गरे । उनले महँगी आकासिएर गरिबको चुलो नबल्ने अवस्था आए पनि सरकारले चाडपर्वका बेला बजारलाई व्यवस्थित गर्न नसकेको आरोप लगाए।
नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवं पूर्वमन्त्री धर्मशिला चापागार्इंले मुलुकमा जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक अधिकार खोस्न चाहने शक्ति सलबलाइरहेको हुँदा परिवर्तनका पक्षधरहरू सचेत रहनुपर्ने बताए । उनले परिवर्तन पक्षधर दलहरू आपसमा मिलेर अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्दै प्रतिगामी चुनौतीलाई परास्त गर्न जनान्दोलनमा सहभागी भएका राजनीतिक शक्तिबीच सहकार्य बलियो हुनुपर्ने धारणा व्यक्त गरे ।