
काठमाडौँ । सत्ताकाे विषयलाई लिएर कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाक युद्ध सुरु भएको छ ।
नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाए लगत्तै माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले नैतिकता भए सरकारबाट बाहिरिन चुनौती दिएपछि एमाले प्रतिकारमा उत्रिएको हो।

असंवैधानिक र अराजनीतिकरूपमा एमालेले खेल्न खोजेकाे आराेप लगाउँदै उनले आफूहरूले गठबन्धनको स्पिरिटअनुसार मुख्यमन्त्रीलाई निशर्त मत दिएको भन्दै गठबन्धनको समस्या समाधान भइसकेकाले राजनीतिक नैतिकता बाँकी रहे सरकारबाट बाहिरिन चुनाैती दिएका छन्।
जवाफमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सरकार बिना बस्न नसक्ने भएपछि एमालेसँग निहुँ खोजेको प्रतिक्रिया दिएका छन्। पूर्व-मुख्यमन्त्रीसमते रहेका कार्कीले फर्जी हस्ताक्षर लिएर मुख्यमन्त्री दावी गरेको आधारमा आङ्बोलाई कारबाही हुनुपर्ने माग गरे।
उनले भने, ‘नैतिकता भए आजै माओवादी केन्द्रले विश्वासको मत नदिएर प्रतिपक्षमा बस्ने निर्णय गर्नुपर्थ्यो। फर्जी हस्ताक्षर लिएर मुख्यमन्त्रीको दावी गर्न गएका थिए, उनको नैतिकता के हो ?, नेपाली कांग्रेसका ८ जना सांसदले हाम्रो हस्ताक्षर होइन भनेर प्रदेश प्रमुखको कार्यालयमा गएर सनाखत गरिसकेपछि कारबाही हुनुपर्दैन ? अब कारबाही भाेग्नुस् ।’
माओवादी केन्द्रलाई पानी बिनाको माछासँग तुलना गर्दै कार्कीले आङ्बोलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेको समर्थनमा बनेको अहिलेको सरकारलाई गठबन्धनको नठान्न सुझाएका छन्।
बरु प्रदेश सरकारलाई पूर्णता दिनेबारे मुख्यमन्त्री कार्कीले कांग्रेस र एमाले मिलेर मन्त्रालय भागबन्डा टुंग्याउने बचन दिएको पूर्व-मुख्यमन्त्री कार्कीले सुनाए। उल्टै गठबन्धनबाट माओवादी र एकीकृत समाजवादीलाई आउट गर्ने योजना एमालेको देखिन्छ।
‘मुख्यमन्त्रीजीले संस्थागतरूपमा कांग्रेसलाई ल्याउँछु भन्नुभएको छ, त्यसरी आयो भने कांग्रेस र एमालेको सिट संख्या र शक्तिको आधारमा मन्त्रालय र जिम्मेवारी बाँडफाँड गर्छौ’, कार्कीले भनेका छन्।
मुख्यमन्त्री कार्कीले भने प्रदेशसभाको आजको बैठकबाट बाहिरिने क्रममा अहिलेको सरकारलाई सहमतीय बनाउने प्रयास गर्ने प्रतिक्रिया दिएका छन्। कार्कीले मुख्यमन्त्री बनेको पाँच दिनमै दुई तिहाइभन्दा बढी विश्वासको मत पाएका छन्। थाहा खबरबाट