२०८१ जेष्ठ ४ शुक्रबार

निर्माणको १० वर्षपछि प्यारीभिट्टा बसपार्क पुनः सञ्चालनमा

मेचीनगर । निर्माण सम्पन्न भएको दशकपछि झापाको मेचीनगर-७ स्थित प्यारीभिट्टा बसपार्क पुनः सञ्चालनमा आएको छ । काँकरभिट्टाको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्यारीभिट्टामा निर्माण गरिएको बसपार्क मंगलबारदेखि दोश्रो पटक सञ्चालनमा आएको हो ।

नेपालको सीमावर्ती सहर काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्यारीभिट्टामा बसपार्क निर्माण गरिएको हो । भारत, भुटान र बङ्गलादेशसँगको व्यापारिक नाका काँकरभिट्टा पर्यटक भित्रिने प्रवेशमार्ग हो । यस क्षेत्रबाट लामो तथा छोटो दूरीका दैनिक ७०० सयभन्दा बढी बस सञ्चालन हुँदै आइरहेका छन् ।
बजारको बीच भागमा रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेको छ । बसको पार्किङ र यात्रुको व्यवस्थापन सकसपूणर् हुने गरेको छ । भविष्यको आवश्यकतालाई दृष्टिगत गरी राजमार्ग छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण थालिएको थियो ।

झण्डै दुई सय बस एकैपटकमा पार्किङ गर्न सकिने क्षमताको उक्त बसपार्क मेचीनगर नगरपालिकाले विधिवत् रुपमा सञ्चालनमा ल्याएसँगै स्थानीय थोरै भएपनि व्यापार व्यवसाय गर्न सहज हुने बताउँछन् । त्यस्तै, यातायत व्यवसायीहरु पनि मेचीनगरले नयाँ बसपार्क सञ्चालनमा ल्याएसंगै सवारी चाप नियन्त्रण तथा व्यवस्थित गन सहज हुने बताउँछन् । निर्माण भएर पनि विभिन्न कारणलेमा बसपार्क सञ्चालनमा नआउनु दुःखदायी थियो । तर, अब बसपार्क सञ्चालनमा आएसंगै त्यस समस्याको अन्त्य भएको व्यवस्थापन समितिको भनाई छ ।

मेचीनगरकै ठूलो विकासे परियोजनाका रूपमा रहेको प्यारीभिट्टा बसपार्क सञ्चालनमा आएपछि अब स्थानीयसंगै यातायात व्यवसायी र सर्वसाधारणलाई सहज भएको छ । नेपालको पुर्वी नाकामा रहेको यस बसपार्क सञ्चालनमा आएसंगै पुर्वबाट नेपालभरी जाने सर्वसाधारणलाई सहज हुनुका साथै नगरपालिकाको स्थानीय आयस्रोत पनि बढ्ने मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी बताउँछन् । मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट रु ३ करोड ३६ लाख र नगर विकास कोषको रु सात करोड ७७ लाख जुटाएर संयुक्त लगानीमा बसपार्क निर्माण अघि बढाइएको बसपार्क २०६८ असार १९ गते शिलान्यास गरिएको थियो । बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुव शिवाकोटीलगायत १२ जना दाताले ५ बिघा ४ कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए ।

बसपार्क शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीसहित निवर्तमान नगरप्रमुख विमल आचार्य, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, मेचीनगर ७ का वडाध्य प्रल्हादमणी ओली, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरू, नेकपा एमाले मेचीनगर ईन्चार्ज चन्द्र प्रसाईं, माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, रास्वपा मेचीनगर सभापति कमल गौतम, राप्रपा मेचीनगर सचिव विशाल बास्कोटा र जसपा मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग र पुर्वी मेची बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठलगायतका अतिथिहरूले बोलेका थिए ।

कार्यक्रममा मेचीनगरका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, मेचीनगरका विभिन्न शाखा प्रमुख कर्मचारी, संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिलगायतको आतिथ्य रहेको थियो ।

प्यारीभिट्टा बसपार्क टर्मिनल व्यवस्थापन समिति अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य सुरेन्द्र बुढाथोकी र सञ्चालन सदस्य सचिव माधव अर्यालले गरेका थिए ।

२०८० आश्विन ३०, मंगलवार प्रकाशित 1 Minute 848 Views

ताजा समाचार