२०८१ जेष्ठ ४ शुक्रबार

दूधको मूल्यवृद्धि तत्काल फिर्ता गर्न आग्रह

(प्रकाश उप्रेती) बिर्तामोड । डेरी एसोसिएसन नेपाल कोशी प्रदेशले सरकारले दूधमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

झापाको बिर्तामोडमा पत्रकार सम्मेलन पत्रकार सम्मेलनमा डेरी व्यवसायीले  सरकारले समस्याबारे तत्काल सम्बोधन नगरे डेरी उद्योगमा सङ्कट र कृषक पलायन हुने अवस्थामा पुगेको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरेको हो ।

सरकारले दुई वर्षमा एक पटक दूधको मूल्यवृद्धि गर्न पाउने नियम नै बनाएको छ । अघिल्लो वर्ष र गत वर्षको फागुनमा सरकारले दूधको मुल्य दुई पटक वृद्धि गर्दै १० रुपैयाँ वृद्धि गरेको थियो ।  एसोसिएसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले अन्तर्राष्ट्रिय बजारको अवस्था विश्लेषण नगरी हचुवाको भरमा दूधको मूल्यवृद्धि गर्दा यति बेला व्यवसायी र किसान सबैभन्दा मारमा परेको बताए ।

चिमरियाले कोशी प्रदेशमा ५ लाख केजी नौनी ९घिउ० स्टक रहेको बताए । नौनीको पनि उपभोग्य मिति गुज्रने समय आउन लागेको  र केही डेरी सञ्चालकले नष्ट गर्न थालेको उनले जानकारी दिए । नेपाली बजारमा दूधको अस्वाभाविक मूल्यवृद्धि गरिएपछि भारतीय बजारबाट खुल्ला दूध र दूधजन्य पदार्थ नेपाल आउन थालेकाले नेपालमा ‘मिल्क होलिडे’ गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

‘भारतीय कृषकलाई त्यहाँको सरकारले अनुदान बढी दिन्छ, त्यसकारण उनीहरू सस्तो मूल्य राखेर दूध बिक्री गर्न सक्छन्, चिमरियाले भने- ‘नेपालमा विद्युतमा छुट छैन, अनुदान छैन, बढाएको मूल्य चोकर उद्योग, दाना उद्योग र पशु औषधी उद्योगले लगेका छन्, सरकारले त्यसको  नियमन गर्न सकेको छैन ।’

दूधको मूल्यवृद्धिसँगै नेपालमा उत्पादित दूधजन्य सामग्रीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । जसका कारण विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको उनले बताए । प्रतिस्पर्धामा सस्तो मूल्यमा अरू देशको उत्पादनले उछिनेपछि नेपाली उत्पादन बिक्री नभएको हो ।

यसअघि नेपालमा उत्पादित छुर्पी युरोप र अमेरिका, दूध भारत र चीनको तिब्बत तथा घिउ जापान निर्यात हुँदै आएको थियो ।

यति बेला दूध भारत निर्यात हुँदै गरेको भए पनि पहिलाको तुलनामा थोरै परिणाममा भारतीय बजारबाट माग हुन थालेको हुनाले नेपालमा मिल्क होलिडे गर्नुपर्ने अवस्था आएको व्यवसायीको भनाई छ । अहिले भारतमा दूधको मूल्य ५६ रुपैयाँ प्रतिलिटर छ भने नेपालमा ६६ रुपैयाँ रहेको उनले बताए ।

दूधजन्य पदार्थको निकासीमा उत्पादन लागत बढेसँगै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा निर्यात ठप्प भएको महासचिव हेमचन्द्र खनालले बताए ।  जसको कारण नेपाली उद्योगीसँग ६ अर्ब भन्दा बढीको दुग्ध पदार्थका सामान स्टक रहेको छ । तयार गरिएका सामान विक्री नहुँदा दूध उद्योगहरूले किसानको पैसा समयमा भुक्तानी दिन नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।

दूध तथा दुग्ध पदार्थको अत्यधिक स्टकका कारण किसानलाई दूधको रकम भुक्तानी प्रभावित हुन थालेको जानकारी दिँदै किसान दुग्ध पेसाबाट पलायन हुने सम्भावना अत्यधिक बढेको उनले बताए । दुग्ध क्षेत्रमा आएको विकराल अवस्थाले आगामी ८ देखि १० महिनापछि सबै व्यवसायीक कृषक पलायन हुने खतरा भएका देखिएको छ । सरकारले दुग्ध क्षेत्रमा लगानी गरेको रकम बालुवामा पानी बराबर हुने अवस्था देखिएको छ ।

नेपालमा  मूल्यवृद्धिका कारण दूधको मूल्य बढेपछि भारतबाट  दूध र दूधजन्य परिकार चोरीको माध्यमबाट आयात हुँदा डेरी  उद्योगको कारोबार खच्किँदै बजार तहसनहस भएको डेरी एसोसिएसन नेपाल कोशी प्रदेशका अध्यक्ष गङ्गाबहादुर खड्काले गुनासो पोखे । अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा दूधको मूल्य उच्च भएपछि दूध र दूधजन्य पदार्थ बिक्री नभएर सड्ने अवस्थामा रहेको उनको भनाई थियो ।

यहीँ अवस्था रहेको खण्डमा नेपालका ८० प्रतिशत दूध उत्पादक कृषक पेसाबाट विस्थापित हुने बताए । उनले मूल्यवृद्धि फिर्ता लिने, यो भन्दा बढी दूध उत्पादनमा रोक लगाउने, उत्पादनको बजारीकरणमा भूमिका खेल्ने लगायतको काम सरकारले तत्काल गर्नुपर्ने बताए ।

एसोसिएसनले दूधजन्य पदार्थको बिक्री नभएपछि आगामी महिनाबाट किसानको रकम भुक्तानी गर्नसमेत नसक्ने अवस्था आउने बताएको छ । हाल नेपालमा दैनिक ७ लाख लिटर दूधको कारोबार हुने गरेको छ भने कोशी प्रदेशमा ३ लाख लिटर कारोबार हुने गरेको छ ।

उनले दूधको अस्वाभाविक  मूल्यवृद्धि किसान र व्यवसायी पलायन हुने खतरा बढ्दै गएको बताए । उनले दूध खरिद गरेर छुर्पी बनाउँदै गरेकोमा अन्य देशले सस्तोमा उत्पादन गरेको छुर्पीले नेपाली उत्पादनलाई विस्थापन गर्न थालेको बताए । एसोसिएसनले पटक(पटक राज्यको सम्बन्धित निकायलाई सो विषयमा ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको जनाएको छ । राज्यले समस्या समाधान गर्न विकल्पको रुपमा किसानलाई उत्पादन लागत कम गर्ने उपाय खोज्नुपर्नेमा अव्यवहारिक   मूल्यवृद्धि गरेर दूधमा आत्मनिर्भर बन्दै गएको नेपालको बजारलाई तहस–नहस बनाउँदै लगेको उनीहरूको गुनासो छ ।

डेरी एसोसिएसनका केन्द्रीय सदस्य एवं प्रदेश सचिव अशेषकुमार बुढाथोकीले पत्रकार सम्मेलन सञ्चालन गरेका थिए । उनले एउटा डेरी उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सयौँले रोजगार पाएका बताए ।  व्यवसाय धराशायी हुँदा लाखौँको रोजगारी गुम्ने खतरा बढेको उनको भनाई थियो ।

२०८० आश्विन २९, सोमबार प्रकाशित 1 Minute 140 Views

ताजा समाचार