ताप्लेजुङ । दसैं प्रारम्भ भएको पहिलो दिन १ हजार २ सय ८४ जनाले पाथीभराको दर्शन गरेका छन् । शनिवारसम्म सुनसान जस्तै रहेको पाथीभरामा आइतबार बिहानै एकाएक भीड बढेको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेका अनुसार यो वर्ष पाथीभरा आउने तीर्थयात्रीको यकिन तथ्यांक निकाल्न फेस काउन्ट गर्ने सीसी क्यामरा र सोधेर गर्ने गणना दुवै विधि प्रयोग गरिएको छ । आइतबार सीसी क्यामराबाट १ हजार २ सय ८४ र मान्छेले गरेको गणनामा १ हजार १ सय ४० जना देखिएको काफ्लेले बताए ।
यो सिजनको मंगलबार, शनिबार जस्ता दिन १० हजार बढी तीर्थयात्री आएको अघिल्ला वर्षका तथ्यांक छन् । पाथीभराको तीर्थ ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेकाले यहाँ आउनेले कठिन यात्रा गर्नु पर्छ ।
यो सिजनमा अधिक तीर्थयात्री आउने भएकाले होटल, यातायात व्यवस्थापन शान्ति सुरक्षाको प्रबन्ध लगायतका सबै तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन । उनका अनुसार जनप्रतिनिधि, होटल, यातायात व्यवसायी, सुरक्षा निकायसँग छलफल गरेर आवश्यक निर्णय पनि गरिएको छ । हरेक होटलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने, यात्रुसँग भद्र व्यवहार गर्नुपर्ने, होटल तथा लज २४ सैं घण्टा खोल्न पाइने तर मादकपदार्थ सेवन गरेर होहल्ला गर्न नहुने जस्ता समझदारी भएका छन् । यातायात अवरुद्ध हुन नदिन सडक कार्यालयले निर्माण कम्पनीलाई आवश्यक उपकरण तयारी अवस्थामा राख्न लगाउने र बिग्रनासाथ बनाउनुपर्ने सहमति भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेका अनुसार अब सुरु भएको पाथीभरा यात्रा मध्य मंसिरसम्म लावालस्कर सहितको हुन्छ । विद्यालय, क्याम्पस बिदा भएकाले यहाँ सपरिवार आउनेहरु धेरै हुने गरेका छन् । चिसो बढ्दै हिउँ पर्न थालेपछि तीर्थयात्रीको संख्या कम हुन थाल्छ । पाथीभरा जानेले काफ्लेपाटीदेखि मन्दिरसम्म पैदल हिड्नु पर्छ । हिड्न नसक्नेका लागि मान्छेले बोकेर पुर्याइदिने सेवा पनि छ ।
सदरमुकाम फुङलिङसम्म बस, जिप, सुकेटार विमानस्थलसम्म जिप जाने गरेका छन् । यहाँसम्म कालोपत्रे सडक छ । सुकेटारदेखि काफ्लेपाटीसम्म १२ किलोमिटर सडक भने कच्ची छ ।
सप्तमी तिथिसम्म भीड हुने त्यसपछि एकादशीसम्म सामान्य तीर्थयात्री आउने र द्धादशीदेखि फेरि भीड सुरु हुने पाथीभराका पुजारी डिल्ली आचार्य बताउँछन् । टीका लगाउन समय नहुने भएकाले अष्टमीदेखि द्धादशीसम्मको चार दिन भने कम तीर्थालु हुने गरेको उनले बताए ।इकान्तिपुरबाट