२०८१ आश्विन ४ शुक्रबार

शेखर पक्षप्रति शर्माको कटाक्ष-खाली सत्ता प्राप्तिका लागि कोशीमा कांग्रेसको विद्रोह भएको देखियो

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशमा पार्टीको डा शेखर कोइराला पक्षले गरेको विद्रोह खाली सत्ताका लागिमात्रै देखिएको बताएका छन् ।

कोशीमा भएको पछिल्लो घटनाक्रमबारे बिहीवार साँझ लोकान्तरसँग कुराकानी गर्दै उनले विद्रोहमा सामेल भएका ८ जना सांसदप्रति कटाक्ष गरे ।

‘संविधान रक्षाका लागि एउटा विद्रोह हुन्छ,’ शर्माले भने, ‘अर्को सत्ताका लागि हुन्छ । कोशीमा कांग्रेसको विद्रोह सत्ताका लागि देखियो ।’कोशी प्रदेशमा भएको घटना तत्कालीन प्रधानमन्त्री रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  प्रतिनिधिसभा विघटन गरेर चालेको असंवैधानिक कदम रोक्न माधवकुमार नेपालहरूले गरेजस्तो नभएको उनले स्पष्ट पारे ।

महामन्त्री शर्माले पार्टीको नीति र निर्देशन उल्लंघन गर्ने छुट कसैलाई पनि नभएको स्पष्ट पारेका छन् ।

गठबन्धनको निर्णयविपरीत केदार कार्कीले मुख्यमन्त्री बन्न प्रतिपक्षी एमालेसँग गठबन्धन गरेको विषयलाई अहिले केन्द्रीय पदाधिकारीहरूसँग छलफल भइरहेको उनले जानकारी दिए ।

उनले शुक्रवारसम्ममा एउटा निष्कर्षमा पुगिने पनि जनाए ।

संविधानका धाराहरू प्रयोग गर्दै सरकार निर्माण हुने भए पनि संसदीय लोकतन्त्रमा पार्टी र संसदीय दलले गरेको निर्णय महत्वपूर्ण हुने शर्माको तर्क छ ।

शेखर पक्षका कार्कीले मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट उमेदवार रहेका नेकपा (माओवादी केन्द्र)का नेता इन्द्र आङ्बोविरुद्ध उम्मेदवारी दिने भएका छन् । उनले एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी गरेपछि कांग्रेसभित्र संकट उत्पन्न भएको छ ।

२०८० आश्विन २६, शुक्रबार प्रकाशित 0 Minutes 167 Views

ताजा समाचार