२०८१ मंसिर २६ बुधबार

एक दिनका लागि जिसस प्रमुख

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–५ नराकोटकी १४ वर्षीया किशोरी गोमा चौलागाईं कक्षा १० मा पढ्दै छिन् । भैरव मावि नराकोटमा अध्ययनरत उनी लामो समयदेखि किशोरीहरूको हकहितमा काम गर्दै आएकी छन् ।

उनै चौलागाईं बिहीबार एक दिनका लागि जिल्ला समन्वय समिति जुम्लाको प्रमुख बनेकी छन् । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले किशोरीहरूको आत्मबल बढाउन र हौसला प्रदान गर्नका लागि एक दिनका लागि समन्वय प्रमुखको पद हस्तान्तरण गरेका हुन् । ‘एक दिन भए पनि समन्वय समितिको प्रमुख बन्न पाउँदा निकै खुसी छु । प्रमुखको कुर्चीमा बसेर असल जनप्रतिनिधिका रूपमा काम गर्न पाइयो,’ उनले आफ्नो अनुभव साटिन् ।

एक दिनका लागि समन्वय प्रमुख बनेकी चौलागाईंले जिल्लासभा चलाएर तीनवटा निर्णय पनि पारित गरिन् । उनले जुम्लाका सबै स्थानीय तहमा रहेका बालविवाह, घरेलु हिंसा र लैंगिक हिंसा न्यूनीकरणका लागि सरोकारवालासँग समन्वय गर्ने, बालविवाह मुक्त जिल्ला घोषणाका लागि पहल गर्ने निर्णय पारित गराएकी हुन् । उनका ती निर्णय जिल्लासभाले पारित गरेको हो ।

जिल्लामा चलेका महिला तथा किशोरी लक्षित कार्यक्रमको प्रभावकारी अनुगमन गर्ने, किशोरकिशोरीको नेतृत्व विकासका लागि तालिम चलाउन सामाजिक विकास कार्यालय जुम्लालाई जिम्मा दिने निर्णयसमेत उनले गरिन् । साथै बढ्दो इन्टरनेटको प्रयोगले समाजमा हुने गरेको विकृति रोक्न सामूहिक अभियान चलाउनेसमेत बताइन् ।

एक दिनको समन्वय प्रमुखले जिल्लासभाबाट पारित निर्णय समन्वय प्रमुख गौरीनन्द आचार्यले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । अहिलेका किशोरकिशोरीहरू भविष्यका कर्णधार भएकोले अहिलेदेखि नै जिम्मेवारी दिन कुनै कन्जुस्याइँ गर्न नहुने उनको भनाइ छ । ‘समाजमा हुने हानिकारक अभ्यासविरुद्ध उभिएर सभ्य समाज निर्माण अभियानमा जुट्नु अहिलेको अपरिहार्यता हो,’ उनले भने । चन्दननाथ नगरपालिकाका उपप्रमुख रामुदेवी खड्का, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलगायतको उपस्थितिमा चौलागाईंले समन्वय प्रमुख भएर जिल्लासभा चलाएकी हुन् ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले महिलाहरू शारीरिक र मानसिक रूपले कमजोर नभएको बताए । सामाजिक संस्कार र संस्कृतिले मात्रै महिलालाई कमजोर बनाएको हो । ‘महिलाहरू पुरुषभन्दा सक्षम छन् । हरेक पेसामा क्रियाशील महिलाहरू अझै बढी जिम्मेवार र संवेदनशील छन्,’ उनले भने, ‘उनीहरूलाई अवसरको खाँचो छ । त्यो अवसर सबैले प्रदान गर्नुपर्छ ।’

प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित जीएसएस परियोजनाअन्तर्गत चौलागाईं समन्वय प्रमुख बनेकी हुन् । इकान्तिपुरबाट

२०८० आश्विन २६, शुक्रबार प्रकाशित 0 Minutes 212 Views

ताजा समाचार