२०८१ मंसिर २६ बुधबार

पूर्वी सिमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी चेकिङ

काँकरभिट्टा । पूर्वी सिमावर्ती सहर काँकरभिट्टामा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ चेकजाँच शुरु गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी नेपालको पुर्वी नाकामा काँकरभिट्टामा आज बुधबारदेखि दैनिकरुपमा सीमावर्ती इलाकामा तालिम प्राप्त कुकुरसहित थप कडाइका साथ चेकजाँच शुरु गरिएको हो ।

सुरक्षा व्यवस्थालाई थप मजवुत बनाउन पुर्वी नाका काँकरभिट्टामा पारु र पिङ्कुलाई सुरक्षा जाँचमा खटाएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी दिपक भारतीले बताए । जर्मन सेफर्ड जातको पारु र गोल्डेन रिटिभर जातको पिङकुले बुधवार बिहानदेखि पुर्वी नाकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचमा नेपाल प्रहरीलाई सहयोग गरेको डिएसपी भारतीले जानकारी दिए ।

चार्डपर्वको मौकामा विभिन्न अबैध सामग्रीको कारोबार हुन सक्ने भएकाले त्यसको कडाईका साथ निगरानी गर्न कुकुरको प्रयोगले प्रहरीलाई सहयोग पुग्ने भारतीले बताएका छन् । ‘प्रहरीले सुरक्षा जाँच गर्दा नभेटिएका कुराहरु पनि कुकुरले पत्ता लगाउन सक्छ,’ डिएसपी भारतीले भने- ‘प्रहरीले नदेखेका कुरा पनि कुकुरले सुँघेर थाहा पाउने हुनाले सुरक्षा सतर्कतामा सजिलो हुन्छ ।’

पारु र पिङ्कुका लागि राशनलगायतका व्यवस्थापन प्रहरी प्रधान कार्यालयले नै गर्ने कुकुरका ह्याण्डलर प्रहरी हवल्दार दिलबहादुर लिम्बुले बताए । पारुले बिस्फोटक पदार्थ पत्ता लगाउने र पिङ्कुले लागु औषध पत्ता लगाउने लिम्बुले जानकारी दिए ।

२०८० आश्विन २४, बुधबार प्रकाशित 1 Minute 923 Views

ताजा समाचार