विश्वास दाहाल, मेचीनगर । लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने चार जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको संयुक्त पहलमा मंगलबार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-७ स्थित प्यारीभिट्टामा सवारीसाधनको लापसे चेकजाँच गर्ने क्रममा लागु औषध सेवन गरी सवारी चलाउने चार जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा पठाइको छ ।
लापसे चेकजाँचमा जिल्ला ट्राफिक, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टा, यातायात व्यवसायी तथा सञ्चारकर्मीलगायत उपस्थिति रहेको थियो । सवारीसाधन चलाउने चालकहरूलाई घटनास्थलमै लापसे जाँच गराउँदा ४ जना चालकले सेवन गरेको पाइएको ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
ट्राफिक प्रहरीले मापसेमा कडाइ गरेपछि पछिल्लो समयमा झापाका विभिन्न स्थानमा लापसे चेकजाँच अभियानमा लागि परेको जिल्ला ट्राफिक कार्यालय बिर्तामोडका कार्यालय प्रमुख नवराज न्यौपानेले बताए ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दिपक भारती, जिल्ला ट्राफिक कार्यालय बिर्तामोडका कार्यालय प्रमुख नवराज न्यौपाने, ट्राफिक पोष्ट काँकरभिट्टाका इञ्चार्ज लिला श्रेष्ठ, मेची सामुदायिक केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेल, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष राजकुमार सुवेदी, मेची बस व्यवसायी प्रा.लीका अध्यक्ष बिष्णुकुमार श्रेष्ठलगायतको उपस्थित रहेको थियो ।