
मेचीनगर । प्रहरी दमनकोविरुद्ध मेचीनगरका कर्मचारी आन्दोलित भएका छन् । सोमबार काठमाडौँमा सरकारले प्रहरी प्रशासन लगाएर आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि दमन गरेपछि त्यस कार्य प्रति नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाई समिति मेचीनगरले विरोध जनाएको छ ।
कर्मचारी कुटपिट अन्त्य गर ! कर्मचारी माथिको दमन बन्द गर !! भन्दै मंगलबार नगरपालिकाको मुख्य प्रवेशद्वारमा एक विरोध कार्यक्रमको आयोजना गर्दै नगरपालिका कर्मचारी एसोसिएसन इकाई समिति मेचीनगरले विरोध गरेको छ ।

विरोध कार्यक्रममा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाई समिति मेचीनगरका निवर्तमान अध्यक्ष रविनसन थापामगर, सल्लाहकार सदस्य जीवन भट्टराई र पवित्रा ढकाललगायतले बोलेका थिए । उनीहरूले कर्मचारीहरूको जायज मागलाई राज्यस्तरबाट चाडै सम्बोधन हुनुपर्ने धारणा राखे ।
सरकारले कर्मचारी कर्मचारी बिच विभेद गरेको भन्दै अहिले देशैभर स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनरत छन् । स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरकारले विभेद गरेपछि उनीहरू अहिले विभिन्न मागसहित आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनरत कर्मचारीहरूले नियमसंगत विभिन्न माध्यम बाट नियुक्ति भएको भएता पनि जनताको सेवामा अहोरात्र खटिरहेका स्थानीय तहका कर्मचारीहरूको मागलाई राज्यले सम्मान पूर्वक सम्बोधन गर्नुपर्ने बताउँछन् ।
नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाई समिति मेचीनगर सचिव आयुसमान निरौलाको अध्यक्षतामा आयोजना भएको विरोध कार्यक्रम सञ्चालन सहसचिव नरमाया निरौलाले गरेकी थिइन् ।