२०८१ बैशाख १ शनिबार

इजरायलमा मृत्यु हुनेको सङ्ख्या सात सयभन्दा बढी, गाजामा ४१३ को मृत्यु

भजनी (कैलाली), असोज २२ गते । “अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरु शनिबारदेखि बङ्करमा लुकेर ज्यान जोगाउन बाध्य  छौँ । यहाँ सोचेजस्तो सहज केही पनि छैन । कति बेला आकासमा कालो धुँवाको मुस्लो उठ्छ थाहै  हुँदैन । निकै नै त्रसित माहोल छ मिसाइल कति बेला कताबाट आयो पत्तो पाइदैन”, इजारयलमा रहनुभएका कैलालीको टीकापुरका निश्चल पाण्डेले पठाउनुभएको म्यासेज हो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’मार्फत इजरायल पुग्नुभएका पाण्डेले अगाडि भन्नुभएको छ, “साइरनको त्यो ठूलो आवाजले सातो जान्छ । आकाशमा हेलिकोप्टर र फाइटर जेट निरन्तर उडिरहेका छन् । बङ्करमा पनि सोचें जस्तै सहज केही छैन । न खाना न पानी अनि त्यो चिसो भूइँमा त्रासैत्रासमा बिताउनुको पीडाले नर्कमा भएको अनुभूति भएको छ । आजको रात निकै लामो हुने छ । पर्खाइ त्यो भोलि शुभ बिहानीको हुनेछ ।”

उहाँले सन्देश पठाएको केही समयपछि उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको समाचार आयो । सो घटनापछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा परेको छ । “घटनाले विद्यार्थी हतोत्साहित बनेका छन् । शिक्षक भावविह्वल बन्नुभएको छ । क्याम्पसका सबै पठनपाठन बन्द भएका छन् । आन्तरिक परीक्षा स्थगित भएको छ”, क्याम्पसका उपप्राध्यापक प्रेम पाण्डेले भन्नुभयो, “हामीसँग बोल्ने शब्द बाँकी छैनन् । घटनाले हामीलाई विवश बनाएको छ ।” उक्त घटनाले विद्यार्थीको मनोबल कमजोर बन्ने स्थिति देखिएको उहाँले बताउनुभयो ।

विश्वविद्यालयका उपप्राध्यापक सरोज घिमिरेले विद्यार्थीको मृत्युले राज्यले ठूलो जनशक्ति गुमाएको बताउनुभयो । उपप्राध्यापक घिमिरे भन्नुहुन्छ, “आज दुःखद् घटना घट्यो । यस्तो अवस्थामा हामीसँग कुनै उत्तर छैन ।”

उपप्राध्यापक गुरु अधिकारीले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका अन्य विद्यार्थी पनि जोखिममा रहेको बताउनुभयो । उहाँले जतिसक्दो चाँडो राज्यले घाइतेको उपचारमा र अन्यलाई नेपाल फर्कने वातावरण बनाउन आग्रह गर्नुभयो । “राज्यको भूमिका औपचारिकता मात्रै देखिएको छ । हाम्रा अन्य विद्यार्थी पनि जोखिममा छन् । उहाँहरुको समयमै उद्धार होस्”, उहाँले भन्नुभयो, “आज विद्यार्थीका अभिभावक भावविह्वल अवस्थामा छन् । सिङ्गो क्याम्पस शोकमा छ । म आग्रह गर्छु, राज्य जिम्मेवार बनोस् ।”

कृषि विज्ञान सङ्कायको दोस्रो वर्षमा अध्ययनरत सुन्दर विश्वकर्मा थापाले उहाँहरुको निधनले आशाको दियो निभेको बताउनुभयो । पहिलो ब्याचका विद्यार्थी इजरायल जाँदा आफूले बोकेका सपनामा पूर्णविराम लागेको उहाँको भनाइ छ । “हामीभन्दा अघिल्लो ब्याचका विद्यार्थीहरु थप सिकाइका लागि इजरायल जानुभएपछि आफूहरु पनि जानुपर्छ भन्ने लागेको थियो । अहिलेको घटनाले त्यो सपनामा पूर्णविराम लागेको छ ।” उहाँले त्रासमा रहेका सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारले चाँडो पहल गर्नुपर्ने बताउनुभयो ।

विश्वविद्यालयबाट भदौ २६ गते इजरायल पुग्नुभएका निश्चल पाण्डेका बुबा उत्तम पाण्डेले आफ्नो छोरासहित सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले छोरासँग सम्पर्क भइरहेको बताउँदै त्यहाँ रहेका विद्यार्थी निकै असुरक्षित भएको बताउनुभयो । “बाहिरको वातावरण निकै असुरक्षित छ भनेर छोरासँग सम्पर्क भइरहेको छ । उहाँहरु अझैपनि बङ्करमा बसेर जीवन जोगाइराख्नु भएको छ ।” पाण्डेले भन्नुभयो, “उहाँहरुको कुराले सबै विद्यार्थी नेपाल फर्किन चाहन्छन । हामी अभिभावक पनि आफ्ना सन्तान फर्केको हेर्न चाहान्छौँ । सरकारले हाम्रा सन्तान नेपाल फर्कने वातावरण बनाओस ।”

विश्वविद्यालयको कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिष्टारका ४९ जना विद्यार्थीमध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना विद्यार्थी इजरायल गएका थिए । उनीहरुमध्ये १० जना छात्रा छन् । उनीहरु १० महिनाका लागि इजरायल गएका थिए । विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत साताको एक दिन अध्ययन, पाँच दिन काम र एक दिन छुट्टीमा बस्ने उल्लेख थियो । कृषि विज्ञान सङ्कायले कार्यक्रमअन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको हो । रासस

२०८० आश्विन २२, सोमबार प्रकाशित 0 Minutes 127 Views

ताजा समाचार