
बिर्तामोड, २३ पुस । नक्कली सुन देखाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम फाक्फोकथुम–७ घर भई हाल बिर्तामोड–५ मा बस्दै आएका २६ वर्षीय दिनेश श्रेष्ठ भन्ने शेरबहादुर बराईली रहेका छन् । प्रहरीका अनुसार झापाको मेचीनगर–९ स्थित रोशनकुमार गजमेरले सञ्चालन गरेको हनुमान ज्वेलर्समा बराइलीले सुनजस्तो देखिने पहेलो धातुको बेरुवा औठी २ थान (तीन तोला) देखाएर गत बुधबार १ लाख ८० हजार रुपैयाँमा राखेर १० हजार पछि लिन आउने सहमतिमा तत्काल १ लाख ७० हजार लगेको भनि जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी खोजतलास गर्ने क्रममा शुक्रबार बेलुका सोही स्थानमा बाँकी पैसा लिन आउँदा बराइलीलाई पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले माथि उल्लेखित विवरण पठाए पनि हाल तीन तोला सुनको मूल्य करिब तीन लाख हुन्छ । कागजात बिना (बिल बिना) सुनको कारोबार गर्न मिल्दैन । यदि त्यस्तो गरिए त्यो अवैध ठहर्छ । अभियुक्तले सुन भनेर ठगी गरे पनि बिना बिलको सुन खरीद गर्ने ज्वेलर्स पनि कारबाहीको भागी हुनुपर्ने हो के हो ? त्यसको के भयो प्रहरीले पठाएको घटना विवरणमा उल्लेख छैन ।