इजरायलमा हमासको आक्रमणपछि कुनै पनि नेपाली अपहरणमा नपरेको गैरआवासीय नेपाली संघ इजरायलले जनाएको छ । इजरायलको दक्षिणी क्षेत्रबाट हमासले केही नेपाली विद्यार्थीलाई पनि नियन्त्रणमा लिएको भन्दै सामाजिक सञ्जालमा धेरैले पोस्ट गरिरहेका छन् ।
तर, एनआरएन इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले कुनै नेपाली अपहरणमा नपरेको बताए । ‘ती सबै गलत सूचना हुन् । नेपाली समुदायका कोही पनि अपहरणमा परेका छैनन्’, उनले भने । उनले आफू इजरायली डिफेन्स फोर्स (आईडीएफ) सित सम्पर्कमा रहेर नेपाली समुदायबारे सूचना, जानकारी लिइरहेको बताए ।
‘हामी यहाँ असाध्यै भयानक अवस्थामा गुज्रिरहेका छौँ । यस्तो बेला कसैले पनि मनगढन्ते कुरा सोसल मिडियामा लेखेर स्थितिलाई थप त्रासदिपूर्ण नबनाइदिन म आग्रह गर्छु’, उनले भने । प्रभावित क्षेत्रबाट नेपाली समुदायको उद्धारका लागि आफूहरू खटिरहेको भण्डारीले जानकारी दिए ।
शनिबार बिहानदेखि हमासले इजरायलका विभिन्न ठाउँमा आकाश, जमिन र समुन्द्रबाट आक्रमण गरिरहेको छ । अध्यक्ष भण्डारीका अनुसार, आक्रमण अहिले पनि जारी छ ।
यस क्रममा ९ नेपाली विद्यार्थी गम्भीर रूपले घाइते भएकाे खबर बाहिरिएकाे छ । यद्यपि, इजरायलकाे तर्फबाट उनीहरूकाे अवस्थाबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन । घाइतेहरूको उपचार भइरहेको छ ।
‘घाइते अवस्थामा अस्पताल पुर्याइएका सबै जनाको अवस्था बुझ्ने प्रयास गरिरहेका छाैँ’, भण्डारीले भने ।शिलापत्र