२०८१ माघ ६ आईतवार

हमासको आक्रमणमा इजरायलमा ९ नेपाली घाइते, २ जनाको अवस्था गम्भीर

काठमाडौं । सरकारले इजरायल आक्रमणमा परी ९ नेपाली घाइते भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार  १४ जना कार्यरत रहेको एक फार्ममा भएको आक्रमणमा ९ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको उल्लेख छ ।

एक फार्ममा कार्यरत १४ नेपालीमध्ये ९ जना घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जारी विज्ञप्तिमा सरकारले इजरायलमाथि गरेको आक्रमणप्रति नेपाल सरकारले भ्रत्सर्ना गर्दै इजरायल सरकारसँग ऐक्यवद्धता व्यक्त गरेको छ ।

हमासले इजरायलमाथि गरेको रकेट आक्रमणपछि परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक बोलाइएको थियो । परराष्ट्र मन्त्री, सचिवलगायतका उच्च अधिकारीहरुको बैठक बसेर त्यहाँ भएको गतिविधिका बारेमा जानकारी लिइएको थियो ।

सरकारले जारी गरेको विज्ञप्तिमा हमासको आक्रमणपछि मृत्यु भएका इजरायली नागरिकका परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको कारबाहीमा अहिलेसम्म कम्तिमा पनि ४० जना इजरायली नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरालयमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीको उद्धारका लागि नजिकबाट समन्वय गरिरहेको बताइएको छ ।  त्यहाँस्थित नेपाली दूतावासले इजरायलका अधिकारीहरुसँग सुरक्षा र नेपालीको उद्धारमा पहल गरिरहेको मन्त्रालयले जनाएको छ ।

घाइते नेपालीको उपचारमा सहयोग गर्न पनि इजरायलसँग आग्रह गरिएको छ । यसैबीच इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणमा शान्ति मिसनमा रहेका नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता कृष्णबहादुर भण्डारीले इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली शान्ति सैनिक भएको स्थानमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताए । शान्ति मिसनमा ८७५ जना नेपाली सेना तैनाथ रहेका छन् ।

२०८० आश्विन २०, शनिबार प्रकाशित 0 Minutes 184 Views

ताजा समाचार