२०८० मंसिर १४ बिहीबार

दुबई पुगेपछि यसरी बदलियो पिंकीको जीवन

पाकिस्तानका धेरै फिल्ममा धेरै दोहोरिने नाम हो, दुबई। यो देशको नाम धेरै पाकिस्तानी मान्छेको दुःख हर्ने सपनाको विम्बको रूपमा फिल्ममा आइरहन्छ।

‘पिंकी मेमसाब’ त झनै दुबईमै छायांकन भएको फिल्म हो। ‘पिंकी मेमसाब’ भित्रको दुबईमा पाकिस्तानका विभिन्न पृष्ठभूमिबाट आएका पात्रहरू भेटिन्छन्।

पाकिस्तानबाट आफ्नो गाउँ छोड्न लागेको दृश्यबाट ‘पिंकी मेमसाब’ की मुख्य पात्र पिंकीको कथा सुरू हुन्छ।

कहिल्यै गाउँभन्दा बाहिर पाइला नचालेकी पिंकी (हाजरा यामिन) को हवाईजहाज यात्रादेखि दुबईको ट्याक्सी यात्राका दृश्यहरूले उनी निर्दोष भएको सावित गर्छन्। उनी दुबईमा भएको उच्च वर्गीय पाकिस्तानी परिवारको घरमा सहयोगीका रूपमा काम गर्न गएकी हुन्छिन्।

त्यहाँ बस्ने क्रममा पिंकी फिलिपिनो कुक र भारतीय ट्याक्सी चालकको साथी बन्छिन्। एक दिन दुबईको बाटोमा हराएपछि उनलाई अंग्रेजी सिकाइन्छ। दुबई र मालिकको घरको चालचलन पुरानो बन्दै जाँदा पिंकीको व्यक्तित्व पनि बदलिँदै आउँछ।

कथा अघि बढ्दै जाँदा उनको जीवन पनि बदलिँदै जान्छ।

दुबई पुगेपछि पिंकीको बुझाइ फेरिन्छ। उनले काम गर्ने ठाउँ फेरिन्छ। उनको रहर र प्राथमिकता फेरिन्छन्। दुबई आउँदाको सुरूकी पिंकी र फिल्म सकिँदासम्मको धेरै अन्तर देखिन्छ।

पिंकीको यो यात्रा मार्फत् फिल्मले दुबईमा बस्ने पाकिस्तानी समुदायको कथा नजिकबाट देखाउँछ।

विदेशलाई सुख र सन्तुष्टिको अन्तिम गन्तव्य ठान्ने वा बाध्यताले बिदेसिनुपर्ने दक्षिण एसियाका हरेक देशमा पिंकीजस्ता पात्र भेटिने भएकोले पनि यो फिल्मको विषयवस्तु महत्त्वपूर्ण छ।

शाजिया अली खानको निर्देशनको यो महिला प्रधान फिल्म हो। निर्देशक र मुख्य कलाकार महिला हुनु यसको विशेषता हो। दुबईसम्बन्धी आफ्नै अनुभवलाई निर्देशक शाजियाले फिल्ममा चित्रण गरेकोले पनि फिल्मका धेरै कुरा काल्पनिक नभएर यथार्थको नजिक छन्।

पिंकीको भूमिकामा हाजरा यमिनका साथमा किरण मल्लिक, सन्नी हिन्दुजा, किरण मलिक कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्।

२०८० आश्विन १९, शुक्रबार प्रकाशित 1 Minute 59 Views

ताजा समाचार