झापा — उत्तरी सिक्किमको ल्होनाक हिमताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । १८ सैनिकसहित ७८ जना अझै बेपत्ता छन् ।
बिहीबार साँझसम्म १८ जनाको मृत्यु राज्य सरकारले पुष्टि गरेको थियो । प्रहरी, सेना सहितको उद्धार टोलीले थप २० शव फेला पारेको हो ।
धेरैजसो शव बंगलादेश सीमा क्षेत्रमा फेला परेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ । बाढीले बगाएर पश्चिम बंगालको तल्लो भेट बंगलादेशको सीमा नजिक पुर्याएका शवहरु पनि उद्धार गरिएको छ ।
बेपत्तामध्ये ४ जना सैनिकको शव बंगलादेश सीमा नजिक फेला परेको थियो । बाढीमा १८ भारतीय सैनिक अझै बेपत्ता छन् । भारतीय सैनिकको गोताखोर टोलीले बेपत्ता सैनिकको खोजी जारी राखेको छ ।
हाल वर्षा रोकिएको र पानीको सतह कम हुँदै गएकाले खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ । इ-कान्तिपुर अनलाइनबाट