
काठमाडौं । कात्तिक १ गतेबाट निश्चित कैदीहरुले जेल बाहिरै बसेर कैद भुक्तानी गर्न पाउने भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४’ मा रहेको ‘प्यारोल’लाई कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याउने निर्णय गरेपछि यो सम्भव भएको हो ।

“प्यारोललाई कार्यान्वयनमा ल्याउने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ,” सरकारका एक मन्त्रीले भने । ऐनको दफा २९ मा कैदीलाई प्यारोलमा राख्न सकिने व्यवस्था गरिएको छ ।
बैठकको निर्णय सार्वजनिक गर्दै यसबारेमा पनि जानकारी दिइएको छ ।
“एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाई अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसूरदारलाई सम्बन्धित प्रोवेशन तथा प्यारोल बोर्डको सिफारिसमा जिल्ला अदालतको न्यायाधीशले प्यारोलमा राख्ने आदेश दिन सक्नेछ,” ऐनको दफा २९ को उफदफा १ मा भनिएको छ ।
“यस दफाको प्रयोजनको लागि ‘प्यारोल’ भन्नाले आफूलाई तोकिएको कैद सजायको दुई तिहाइ अवधि भुक्तान गरिसकेको कैदीलाई बाँकी अवधि तोकिएको सर्त पालना गरी प्यारोल अधिकृतको निगरानीमा समाजमा जीवन यापन गर्न अनुमति दिइएको अवस्था सम्झनुपर्छ,” ऐनमा प्यारोलका सम्बन्धमा थप स्पष्ट पारिएको छ ।
केही कसूरदारले भने प्यारोलको सुविधा पाउने छैनन् । ऐनमा जन्मकैदको सजाय पाएको, भ्रष्टाचारको कसूरमा सजाय पाएको, जबरजस्ती करणीको कसूरमा सजाय पाएको, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा सजाय पाएको र सङ्गठित अपराध सम्बन्धी कसूरमा सजाय पाएको व्यक्तिलाई प्यारोलमा राख्न नसकिने उल्लेख छ ।
यस्तै ऐनअनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा सजाय पाएको, यातना वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार सम्बन्धी कसूरमा सजाय पाएको, मानवता विरुद्धको अपराध सम्बन्धी कसूरमा सजाय पाएको र राज्य विरुद्धको अपराध सम्बन्धी कसूरमा सजाय पाएको व्यक्तिलाई पनि प्यारोलमा राख्न सकिने छैन ।
कुनै कैदीलाई प्यारोलमा राख्ने आदेश गर्दा प्यारोलमा रहेको अवधिमा त्यस्तो कसूरदारले पालना गर्नु पर्ने भनी प्रोवेशन तथा प्यारोल बोर्डले निर्धारण गरेका शर्तहरु समेत तोकिदिनु पर्ने ऐनमा उल्लेख छ ।
शर्तहरु सम्बन्धित कसूरदारले पालना गरे वा नगरेको अनुगमन प्यारोल अधिकृतले गर्नेछन् । ऐनअनुसार प्यारोलमा रहेको कसूरदारले प्रोवेशन तथा प्यारोल बोर्डले निर्धारण गरेका सर्तहरु पालना गरेमा निजलाई तोकिएको कैद सजाय भुक्तान भएको मानिनेछ ।
प्यारोलमा रहेको कसूरदारले शर्त पालना नगरेमा वा त्यस्तो अवधिमा कैद सजाय हुने कुनै कसूर गरेमा निजले आपूmलाई तोकिएको बाँकी कैद सजाय कारागारमा बसी भुक्तान गर्नु पर्नेछ । बाह्रखरी