२०८१ कार्तिक २० मंगलवार

कोशीमा मध्यावधि चुनाव राेक्न कांग्रेस खुल्ला हुनुपर्छ : बिमलेन्द्र निधि

मोरङ । कांग्रेस नेता बिमलेन्द्र निधिले कोशी प्रदेशमा मध्यावधि चुनाव रोक्न कांग्रेस खुल्ला हुनुपर्ने बताएका छन् । विराटनगरमा बुधबार कान्तिपुरसँगको कुराकानीमा निधिले अहिले कोशी प्रदेश सभामा बहुमत सिद्ध गर्न सक्ने कांग्रेसका कुनै प्रदेश सासंदको नेतृत्वमा सरकार बनाउने कि मध्यावधि चुनावमा जाने भन्ने दुई विकल्पमध्ये कांग्रेसका जुनसुकै सांसदको नेतृत्वमा सरकार बन्छ भने कांग्रेस तयार हुनुपर्ने बताएका हुन् ।

‘कोशीमा कांग्रेस नेता उद्धव थापाको नेतृत्वमा दुईपटक सरकार गठन भएर पनि बहुमत सिद्ध गर्न नसकेर सर्वोच्च अदालतले पद मुक्त गरिदिएको अवस्था छ,’ उनले भने, ‘अहिले संविधानको धारा १६८ को उपधारा (५) अनुसार पुन: सरकार गठनका लागि भइरहेको प्रयासमा दलका नेताले पहल गर्नु स्वभाविक हो । तर बहुमत सिद्ध गर्ने गरी सरकार बनाउन सकेनौं भने मध्यावधि चुनाव निश्चित रहेको भुल्नु हुँदैन ।’

त्यसैले अहिलेको अवस्थामा कांग्रेसका जोसुकै सांसदको नेतृत्वमा सरकार बन्छ भने कांग्रेस खुल्ला हुनुपर्छ, बाधक बन्नु हुँदैन भनेर पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराइसकिएको निधिले बताएका छन् ।

‘विश्वासको मत लिने बेलामा दलहरूले कसलाई समर्थन गर्छन् त्यस्तो सांसदको नेतृत्वमा कांग्रेसले सरकार बनाउन विकल्प दिन सक्नु पर्छ,’ उनले भने, ‘तत्कालीन एमाले नेता झलनाथ खनाल दलको नेता हुँदाहुँदै गिरिजाप्रसाद कोइरालाले माधव नेपालको नाम प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको घटनालाई यतिबेला स्मरण गर्नुपर्छ ।’ त्यसैले सरकार मात्रै बनाउन नेता थापाको नेतृत्वमा पुनः सरकार बनाउने हो भने मध्यावधिमा जानुको विकल्प नरहने निधिको भनाइ थियो ।

सर्वोच्च अदालतको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमाले नेता हिक्कमतकुमार कार्कीको नेतृत्व अल्पमतको सरकार बनेको छ । उनले उक्त धाराको उपधारा (४) अनुसार असोज २० गतेभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नैपर्ने बाध्यात्मक अवस्था छ । ९३ सदस्यी प्रदेशसभा ४७ सांसदको बहुमत रहेको गठबन्धन दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको हुँदा उनले विश्वासको मत नपाउने र उपधारा (५) को सरकार गठन हुने अवश्यमभावी छ ।

निधिले पार्टीका महामन्त्री गगन थापाले कांग्रेसलाई सरकार बाहिर बस्नु पर्ने दिएको अभिव्यक्ति अपरिपक्व भएको टिप्पणी गरेका छन् । उनले सरकार फेर्ने र मन्त्री फिर्ता बोलाउने कांग्रेसको कुनै योजना नरहेको प्रष्ट पारेका हुन् ।

‘सरकारको कामकाजलाई हामीले हेरिरहेका छौं,’ उनले भने, ‘गठबन्धनको सरकारले गर्ने काम गठबन्धन र देशको वातावरणमा भरपर्छ । बहुमतको पनि सरकारले काम गर्न नसकेको हेरेका छौं ।’ इकान्तिपुर

२०८० आश्विन १७, बुधबार प्रकाशित 1 Minute 173 Views