२०८१ चैत्र २ शनिबार

नेपालगञ्जमा बुधवार पनि निषेधाज्ञाको निरन्तरता

बाँकेको स्थानीय प्रशासनले नेपालगञ्जमा बुधवार पनि निषेधाज्ञा (कर्फ्यू)लाई निरन्तरता दिएको छ । मंगलवार दिउँसो १ बजेदेखि जारी भएको अनिश्चितकालीन कर्फ्यूलाई बुधवार पनि निरन्तरता दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले बताए ।

हिन्दू र मुस्लिम धार्मिक समुदायबीच तनाव बढ्ने अवस्था सिर्जना भएपछि मंगलवार दिउँसोदेखि स्थानीय प्रशासनले नेपालगञ्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो । पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुस तथा सभासमारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ । कर्फ्यूका कारण बुधवार बिहानैदेखि नेपालगञ्ज क्षेत्र सुनसान छ । बजार र यातायात बन्द छ । नागरिकहरू घरभित्रै बसेका छन् ।प्रजिअ आचार्यले अहिले नेपालगञ्जको अवस्था सामान्य रहेको बताए । सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि मात्रै कर्फ्यू हटाउने कि नहटाउने भन्ने विषयमा ठोस निर्णय हुने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठोरले जानकारी दिए ।

दुई धार्मिक समूहबीचको तनाव चुलिएपछि नेपालगञ्ज नगर क्षेत्रमा मंगलवार साँझदेखि सेनासमेत परिचालन गरिएको छ । दुई धार्मिक समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । झडपमा परेर ३ प्रहरीसहित १३ जना घाइते भएका छन् । अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन ।लोकान्तर

२०८० आश्विन १७, बुधबार प्रकाशित 0 Minutes 191 Views

ताजा समाचार