‘१२ बुँदे व्याख्यात्मक घोषणामा हामी सहमत छौं, स्वीकारेका छौं’
नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले नेपालमा एमसिसीअन्तर्गतका परियोजना समय सीमाभित्रै सम्पन्न हुनेमा आफू आशावादी भएको बताएकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी अल्ब्राइटले मंगलबार दिउँसो काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै भनिन्- प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू सबै जना परियोजनाको पक्षमा हुनुहुन्छ। परियोजना कार्यान्वयनमा गइसकेको छ। उहाँहरूसँग कुरा गरेपछि म निकै उत्साहित छु र परियोजना समयसीमाभित्रै पूरा हुनेमा आशावादी छु।
गत आइतबार नेपाल आएकी अल्ब्राइटले सोमबार र मंगलबार उच्चस्तरीय राजनीतिक भेटघाट गरेकी थिइन्।
‘सरोकारवाला विभिन्न निकायका अधिकारीहरूसँग भेट्दा उहाँहरू सबैले कार्यान्वयनको प्रक्रियालाई तीव्र गतिमा अघि बढाउनुपर्ने बताउनुभएको छ,’ अल्ब्राइटले भनिन्,‘हामीसँग विगत २० वर्षमा संसारका विभिन्न मुलुकमा एमसिसीका परियोजना समयमै सकेको अनुभव छ। केही जटिलता भए पनि नेपालमा पनि समयमै परियोजना सकिन्छन्।’
एमसिसी संसदबाट पारित हुँदा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणामा आफूहरू सहमत भएको र त्यसलाई स्वीकारेको प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले बताइन्।
नेपालमा एमसिसी गत भदौ १३ गतेदेखि कार्यान्वयनमा गएको छ। एमसिसीअन्तर्गतका परियोजना ५ वर्षभित्र पूरा भइसक्नुपर्ने सम्झौतामा उल्लेख छ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले एमसिसीका परियोजनाका लागि खरिद र ठेक्का प्रक्रिया सुरू भइसकेको बताए।
‘एमसिए नेपालले पारदर्शी तरिकाले वृहत छलफलपछि टेन्डर प्रक्रिया सुरू गरिसकेको छ। हामीसँग अब ४ वर्ष ११ महिनाको समय छ। समयमै सक्ने गरी काम भइरहेको छ,’ उनले भने।