२०८१ आश्विन १९ शनिबार

विश्वमै बढी अदुवा उत्पादन हुने प्रमुख पाँच राष्ट्रभित्र नेपाल, कुन जिल्लामा बढी ?

काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाल विश्वमै सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रहको सूचीमा प्रमुख पाँच भित्र पर्छ । यो संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले तयार पारेको प्रतिवेदनअनुसार प्रमुख पाँचभित्र पर्न सफल भएको हो ।

एफएओका अनुसार भारत, नाइजेरिया, चीन र इन्डोनेसियापछि सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्र नेपाल हो । नेपालमा सन् २०२१ मा २ लाख ७९ हजार २०६ मेट्रिक टन अदुवा उत्पादन भएको एफएओले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

नेपालमा सबैभन्दा बढी अदुवा उत्पादन सन् २०२० मा भएको थियो । उक्त वर्ष २ लाख ९८ हजार ९४५ मेट्रिक टन अदुवा नेपालले उत्पादन गरेको देखिन्छ ।

कुन वर्ष कति उत्पादन

एफएओका अनुसार नेपालले सन् २०१५ मा २ लाख ४२ हजार ५४६ मेट्रिक टन, २०१६ मा २ लाख ७१ हजार ८६२ मेट्रिक टन, २०१७ मा २ लाख ७९ हजार ५०३ मेट्रिक टन, २०१८ मा २ लाख ८४ हजार मेट्रिक टन र २०१९ मा २ लाख ९७ हजार ५१२ मेट्रिक टन अदुवा उत्पादन गरेको थियो ।

सन् २०१९ मा नेपाल विश्वमा सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रको सूचीमा भारत, नाइजेरिया र चीनपछि चौथो नम्बरमा रहेको थियो । एफएओका अनुसार सन् १९८५ मा नेपालमा १० हजार मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

सन् २००० मा आइपुग्दा नेपालमा वार्षिक अदुवा उत्पादन ७४ हजार ९९४ मेट्रिक टन पुगेको थियो । सन् २०१० मा नेपालले २ लाख १० हजार ७९० मेट्रिक टन अदुवा उत्पादन गरेको एफएओको विवरणमा देखिन्छ ।

नेपालको कहाँ हुन्छ बढी अदुवा ?

अदुवा संसारमा सबैभन्दा लोकप्रिय मसलामध्येमा पर्छ । यसको स्वाद र औषधीजन्य गुणहरूको कारण विश्वभरी भान्सामा अदुवाको व्यापक प्रयोग हुने गर्छ । नेपालको अदुवा अर्गानिक र कम फाइबरको हिसाबले उच्च गुणस्तरको मानिन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालबाट अदुवा मुख्यतया भारतमा निकासी हुने गरेको छ । त्यसपछि बंगलादेश, जर्मनी, खाडी राष्ट्रमा नेपालको अदुवा जाने गरको छ ।

नेपालमा उत्पादन हुनेमध्धे ५० प्रतिशतभन्दा बढी अदुवा निर्यात हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नेपालमा करिब दुई लाख परिवार अदुवा उत्पादनमा संलग्न रहेको अनुमान छ ।

नेपालका ६५ भन्दा बढी जिल्लामा अदुवा उत्पादन हुन्छ । पश्चिम नेपालको डोटी, कैलाली, सुर्खेत र सल्यान, मध्य नेपालको पाल्पा, स्याङ्जा र नवलपरासी र पूर्वी नेपालको इलाम, झापा र सिन्धुपाल्चोक जिल्ला प्रमुख अदुवा उत्पादन हुने जिल्लाहरू हुन् ।

सन् २०२२ मा विश्वमा अदुवाको बजार २.९ अर्ब अमेरिकी डलरको रहेको थियो । सन् २०२८ मा यो बजार ४.७ अर्ब अमेरिकी डलरको हुने अनुमान छ ।

नेपालबाट अदुवाको निर्यात

नेपालले प्रत्येक वर्ष करोडौं रुपैयाँको अदुवा निर्यात गर्ने गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो दुई महिना (साउन र भदौ) मात्र मात्र नेपालले ३३ करोड १ लाख ४८ हजार रुपैयाँको अदुवा निर्यात गरेको छ ।

नेपालले २०८० को साउन र भदौ महिनामा २६ लाख १४ हजार १७८ केजी अदुवा निर्यात गरेको छ । यो अवधिमा भारत र कतारले नेपालको अदुवा आयात गरेका छन् । गत आर्थिक वर्ष २०७९–८० मा मा नेपालले १ अर्ब २२ करोड २२ लाख ३३ हजार रुपैयाँको २ करोड ३० लाख १३ हजार ६८२ केजी अदुवा निर्यात गरेको थियो ।

गत आर्थिक वर्ष नेपालले बंगलादेश, भारत, नेदरल्यान्ड्स, जापान, युनाइटेड अरब इमिरेट्स, जर्मनी र कतारमा अदुवा निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँछ । गत आर्थिक वर्ष नेपालबाट सबैभन्दा ठूलो मात्रमा निर्यात हुने वस्तुको सूचीमा अदुवा २४औं नम्बरमा रहेको थियो ।

आर्थिक वर्ष २०७८–७९ मा नेपालले ६४ करोड १४ लाख ५६ हजार रुपैयाँको १ करोड १९ लाख ५८ हजार ८९३ केजी अदुवा निर्यात गरेको थियो ।

२०८० आश्विन १५, सोमबार प्रकाशित 0 Minutes 107 Views

ताजा समाचार