२०८१ भाद्र ३१ सोमबार

माओवादीको अभियानमा नजानेलाई कारबाही हुन्छ : बलदेव

बिर्तामोड । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘घरघरमा माओवादी जनजनमा माओवादी’ नामक विशेष रूपान्तरण अभियानमा तोकिएको जिम्मेवारी पूरा नगर्ने नेतालाई कारबाही गरिने भएको छ । माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल (बलदेव)ले जिम्मेवारी पाएको ठाउँमा गएर काम नगर्ने नेतालाई जिम्मेवारीबाट मुक्त गर्ने बताएका हुन् ।

नेकपा माओवादी केन्द्र झापाले आइतबार आयोजना गरेको तीन महिने विशेष रूपान्तरण अभियानको प्रारम्भिक समीक्षा कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता खनालले जिम्मेवारी पाएर अहिलेसम्म पनि तोकिएको भूगोलमा नगएका नेताहरूलाई एक पटक अन्तिम मौका दिने र त्यसपछि पनि कार्यक्षेत्रमा नगए जिम्मेवारीबाट मुक्त गरिने बताए । अभियान सञ्चालन भएको एक महिना बितिसक्दापनि केही केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरु फिल्डमा नगएको रिपोर्ट आएको भन्दै नेता खनालले कारबाही गर्ने चेतावनी दिएका हुन् ।

नेता खनालले जिल्लामा गुटको अन्त्य गर्नुपर्ने बताउँदै गुटगत राजनीतिले फाइदा नहुने धारणा राखे । उनले पार्टीलाई सिङ्गो पार्टीको रुपमा उभ्याउनुपर्ने भन्दै सबैलाई मिलेर काम गर्न आग्रहसमेत गरे । अभियानका लागि झापामा केन्द्र र प्रदेशबाट ७ जना नेता खटिएका छन् । उनीहरू प्रदेश, जिल्ला र स्थानीय नेताहरूसँग समन्वय गरेर माओवादीले ल्याएका परिवर्तन, उठाएका मुद्दाहरू र बोकेका एजेन्डाहरू गाउँ गाउँमा गएर जनतालाई बुझाउन लागिपरेका छन् ।

कार्यक्रममा झापाका सबै पालिकामा अभियानको क्रममा भएका गतिविधिहरू रिपोर्टिङ भएको थियो । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो (मौसम) बाहेक सबै पालिका कमान्डरहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले समेत अभियानका विषयमा सुझाव र जिज्ञासा राखेका थिए । पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)ले पार्टीका गतिविधिलाई तलैसम्म पुग्ने गरी लैजान आग्रह गरे । अभियान जिल्ला इन्चार्ज राजेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नि)ले सञ्चालन गरेका थिए ।

२०८० आश्विन १४, आईतवार प्रकाशित 0 Minutes 209 Views

ताजा समाचार