२०८१ आश्विन ४ शुक्रबार

ताप्लेजुङको टिप्ताला नाका अझै खुलेन

झापा । ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ताला नाका चार वर्षदेखि बन्द भएको छ । चीनबाट कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रमा समुदायले सास्ती खेप्नुपरेको छ । चीनले नाका खुलाउने भने पनि त्यस विषयमा खासै चासो देखाएको छैन । नाका खुलाउन चासो नदिँदा सिमावर्ती क्षेत्रका बासिन्दा मारमा परेका छन् ।
विभिन्न बहाना बनाएर नाकामा आवतजावत बन्द गराइएको थियो । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको थियो । चीनको जबरजस्ती आग्रहले नेपाल जहिले पनि हेपिनु परेको छ । यो हेपाहा प्रवृत्तिले नेपाल निरीह बन्न पुगेको छ ।
आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलन सक्ने भनी यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो । तर, कोभिडको बहानामा अहिलेसम्म नाका सुचारु नगर्नुमा शंका धेरै गर्ने ठाउँ बन्न पुगेको छ । कोरोना महामारी सकिएको वर्षौं बित्दा पनि नाका खुलाउन कुनै पहल हुन सकेको छैन ।
त्यस क्षेत्रका स्थानीय पशु व्यवसायदेखि उत्पादित पशुजन्य वस्तुले बजार नपाएपछि पशु व्यवसायी आर्थिक संकटको चपेटामा परेका छन् । ओलाङ्चुंगोलामा बुनिएका गलैंचाले चीनमा बिक्री हुँदै आएको थियो । गलैंचा बिक्री गरेरै यहाँका समुदायले राम्रो आयआर्जन गरेका थिए । तर, चार वर्षदेखि गलैंचा घरमै थुप्रिराखेको ओलाङ्चुंगोलावासी बताउँछन् । आर्थिक रुपमा पनि नेपालले ठूलो क्षति व्यहोर्नु परेको छ ।
सिमानादेखि नजिकैका बस्ती याङ्माबाट रिउ पुग्न तीन दिन लाग्छ भने ओलाङचुंगोलाबाट एक दिनमा पुगिन्छ । सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि कोरोना सङ्क्रमणपछि नेपालतर्फको सडक पूरै अवरुद्ध छ । मर्मतसम्भार हुन सकेको छैन ।
चीनतर्फबाट भने सिमानासम्मै गाडी आउने गरेको स्थानीय बताउँछन् । त्यसैले चीनले नाका खुलाउन खासै महत्व दिने गरेको छैन । चीनको स्वार्थ भनेको नेपाललाई ठीक्क पारेजस्तो गर्ने तर कार्यान्वयनमा आलटाल गर्ने जस्तो देखिएको छ । सीमा क्षेत्रमा दुवै देशका नागरिकले सहज रुपमा आवतजावत गर्न पाइने नियम भए पनि एकतर्फी मात्र हुनु भनेको सानो देशलाई हेपेको हो कि भन्न सकिन्छ ।
………………

२०८० आश्विन १३, शनिबार प्रकाशित 0 Minutes 245 Views

ताजा समाचार