२०८१ कार्तिक २६ सोमबार

गगन र विश्वप्रकाशसँग धुम्बाराहीमा छलफल गर्दै देउवा

झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्दैछन् ।

प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक सभापति देउवाले पार्टीका दुई महामन्त्रीलाई निवासमा बोलाएर छलफल गर्न लागेका हुन् ।

यसअघि सभापति देउवाले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्दाका बेला महामन्त्रीद्वयसँग टेलिफोनमा संवाद गरेका थिए ।

सभापति देउवाले निवास धुम्बाराहीमा शुक्रबार अपरान्ह साढे ४ बजे छलफलका लागि बोलाएका हुन् ।

‘महामन्त्रीद्वयसँग समसामयिक राजनीतिक घटनाक्रम र अब बस्ने केन्द्रीय समितिलगायत विषयमा सभापतिले छलफल गर्न लाग्नुभएको हो। यो औपचारिक छलफल होइन । सभापतिले अनौपचारिक रूपमा पार्टीका उपसभापतिहरू लगायत नेताहरूसँग छलफल गरिरहनुभएको छ, यो छलफल त्यसैको निरन्तरता मात्र हो,’ देउवानिकट एक पदाधिकारीले भने ।

बैठकमा संसदीय दलको बैठकका एजेन्डाबारे पनि छलफल हुनेछ । कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक राखेको छ। प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन् ।

सभापति देउवाले गठबन्धनलाई चुनावपछि कायम राख्न नसकेको भन्दै महामन्त्रीद्वय थापा र शर्माले आलोचना गर्दै आएका छन्। साथै उनीहरूले नीति अधिवेशन बोलाउनसमेत संयुक्त विज्ञप्ति निकालेर माग गरेका थिए ।

कांग्रेसले पुस २८ गते केन्द्रीय समिति बैठक बोलाएको छ। चुनाव समीक्षालगायत विषयमा उक्त केन्द्रीय समितिमा छलफल हुनेछ ।

२०७९ पुष २२, शुक्रबार प्रकाशित 0 Minutes 347 Views

ताजा समाचार