२०८१ जेष्ठ १० बिहीबार

मुटु स्वस्थ राख्ने १० उपाय

डा. प्रकाशराज रेग्मी

प्रत्येक वर्ष २९ सेप्टेम्बरका दिन विश्व मुटु दिवस मनाउने चलन छ। यस वर्ष विश्वभर ‘मन लगाऔं, आफ्नो मुटु बचाऔं’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदै छ।

‘आफ्नो मुटुको सुरक्षा आफैं गरौं, स्वास्थ्य परीक्षण गराऔं, मुटु रोगका जोखिमहरू थाहा पाइराखौं, कुनै स्वास्थ्य समस्या भए तुरून्त उपचार गराऔं, उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल जस्ता समस्या बिनाउपचार पालेर नराखौं, उपचारमा हेलचेक्रयाइँ नगरौं’ आदि सन्देश दिन खोजिएको छ।

विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनि दुई करोड मानिस मुटुको रोगबाट मर्छन्। यीमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख र अविकसित राष्ट्रका छन्।

१९ औं शताब्दीमा मानव मृत्युको प्रमुख कारण संक्रामक रोग र कुपोषण थिए। २० औं शताब्दीको सुरूसम्म पनि मुटु रोगबाट मर्नेहरूको संख्या १० प्रतिशतभन्दा कम थियो। २१ औं शताब्दीको सुरूमा आएर मुटुरोगबाट मर्नेको संख्या विकसित राष्ट्रहरूमा करिब ५० प्रतिशत र विकासोन्मुख राष्ट्रहरूमा २५ प्रतिशत पुगेको छ।

विश्व स्वास्थ्य संगठनले भविष्यवाणी गरेअनुसार, सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेहरूको संख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने छ। र, कोरोनरी मुटुको रोग (हृदयघात) संसार कै हत्यारा नम्बर १ रोगका रूपमा स्थापित हुनेछ। सन् २०३० सम्ममा नेपाल लगायत विकासोन्मुख राष्ट्रहरूमा हृदयघात भएर मर्नेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान छ।

नेपालमा हाल २५ प्रतिशत अर्थात करिब ७५ लाख जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन्। मुटु रोगीहरूको संख्या नेपालमा बीस वर्षयता पाँच गुणाले बृद्धि भएको छ।

नेपालमा विद्यमान मुटुरोगमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुका रोगहरू र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा देखिएका छन्। मुटुका रोगहरूमध्ये कोरोनरी र उच्च रक्तचाप धेरै छिटो गतिमा बढ्दै गइरहेको देखिन्छ। यसको प्रमुख कारणका रूपमा मानिसहरूको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तनलाई औंल्याइएको छ।

आजका मानिसहरूको जीवनशैली अस्वस्थकर भएको छ। मानसिक तनाव बढेको छ, व्यायाम घटेको छ। धूमपान, मद्यपान, खानामा गुलियो र चिल्लो प्रयोग बढेको छ। सागसब्जी र फलफूल खाने बानी एकदमै कम छ। तयारी खाना (फास्टफुड) धेरै खाने बानी छ।

नेपाल एनसिडी अलायन्सका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ। २५ प्रतिशतलाई कालेस्टेरोल छ। १० प्रतिशतलाई मधुमेह छ। एक प्रतिशत बालबालिकालाई बाथ मुटुरोग छ। ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन्। करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन्। ४० प्रतिशतले चुरोट, सूर्ति सेवन गर्छन्। धेरै नेपालीलाई मानसिक तनाव छ। जताततै वातावरणीय प्रदूषण छ। शुद्ध खानेपानीको अभाव छ। तरकारी र फलफूलहरू विषादीले भरिएका छन्। मानिसको जीवन कष्टकर भएको छ।

आज विश्वमा ३० करोडभन्दा बढी मानिसहरू मोटोपनको शिकार भएका छन्। पाँच वर्षमुनिका दुई करोड २० लाख बालबालिका आवश्यकभन्दा बढी शारीरिक तौल भएका छन्। मोटोपन मुटुका लागि खतरा हो। नेपालका सहर बजारमा बालबालिकालाई धेरै खुवाउने, त्यसमाथि अस्वस्थकर खाना खुवाउने र मोटोघाटो बनाउने प्रवृत्ति बढ्दो छ। २० प्रतिशत बालबालिकामा मोटोपना भएको देखिन्छ।

मोटोपना जस्तै धूमपान, मद्यपान, बढी गुलियो, चिल्लो र बोसोयुक्त खानपान गर्ने प्रवृत्ति धेरै बढेको छ। जसका कारण हृदयघात, उच्चरक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल आदिको समस्या पनि अकासिँदै गइरहेको छ।

यसरी बढ्दै गइरहेको मुटुरोगको समस्या रोकथाम गर्न जनचेतना जगाउनुका साथै नीति निर्माताहरूलाई मुटुरोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यक नीति तथा कार्यक्रमहरू बनाउन घचघच्याउन अति जरूरी देखिन्छ। यसै उद्देश्यले विश्व मुटु महासंघले विश्व मटु दिवस मनाउने चलन चलाएको हो।

धेरै मानिसहरूलाई आफ्नो मुटु र स्वास्थ्यमा रहेको खतराबारे जानकारी हुँदैन। किनकि उनीहरू नियमित स्वास्थ्य परीक्षण गराउँदैनन्। यस्तै प्रकारले धेरैलाई मुटुरोगका कारक तत्वहरू (जोखिम) बाट आफू प्रभावित भए वा नभएको बारे जानकारी राख्नुपर्छ र यसबाट मुक्त हुने उपायहरू पनि समयमै गर्नुपर्छ भन्नेबारे चेतना छैन। यो चेतना अभावका कारण बहुसंख्यक मानिसहरूको हृदयघात र मास्तिष्कघातबाट मृत्यु भइराखेको छ। प्रत्येक मानिसले आफ्नो मुटु कति खतरामा छ, त्यो थाहा पाइराख्नुपर्छ। र, यसबाट बच्ने उपाय समयमै गर्नुपर्छ।

मुटुका लागि जोखिम तत्वहरू उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन, धूमपान गर्ने बानी, वंशानुगत, व्यायामको कमी, मानसिक तनाव आदि प्रमुख हुन्। यदि कसैलाई यी समस्याहरू छन् भने तुरून्त यसबाट छुटकारा पाउन आवश्यक उपचार र सावधानी अपनाउनुपर्छ भन्ने वैज्ञानिकहरूको सल्लाह छ। अन्यथा हृदयघात र मस्तिष्कघात भएर आकस्मिक मुत्यु हुन सक्छ।

मुटुका धेरै रोगहरू जीवनशैलीसँग सम्बन्धित हुन्। अध्ययन तथा अनुसन्धानले देखाएका छन् कि, जीवनशैली परिवर्तनबाट मात्र पनि ९० प्रतिशतभन्दा बढी मुटुरोगका कारणहरूमाथि नियन्त्रण गर्न सकिन्छ। यस कारण मुटुरोग नियन्त्रण कार्य जीवनशैली स्वस्थकर बनाउने तर्फ लक्षित हुनुपर्छ। सबै सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले मुटुमैत्री वातावरण सिर्जना गर्न सहयोग गर्नुपर्छ र विश्वव्यापी अभियानमा सबै जानुपर्छ।

यसै सन्दर्भमा विश्व मुटु महासंघले विश्वका जनतालाई मुटुरोगबाट बच्नका लागि सन्देशहरू जारी गरेको छ। तल उल्लिखित उपायहरू सबैले पालना गरी आफ्नो मुटु स्वस्थ राख्ने प्रयास गरौं।

१. आफ्नो मुटु कति खतरामा छ भन्ने थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ। स्वास्थ्य परीक्षण गराउँदा रक्तचाप, रगतमा ग्लुकोज, कोलेस्टेरोल आदि जँचाउनुका साथै पेटको नाप र मोटोपनबारे पनि जानकारी लिनुपर्छ।

२. आफूलाई रहेको खतराबारे जानकारी पाएपछि स्वास्थ्यकर्मीसँग यी खतराहरूबाट मुक्त रहन के कसो गर्ने हो, त्यसबारे परामर्श लिनुपर्छ।

३. हृदयघात र मस्तिष्कघातको प्रमुख कारण उच्च रक्तचाप हो जसको कुनै लक्षण हुँदैन। औजारले नजाँची रक्तचाप कति छ भन्ने थाहा हुँदैन। यस्तै प्रकारले मधुमेहका साथै रगतमा कोलेस्टेरोल बढेको छ कि छैन भन्नेबारे थाहा पाउन नियमित रूपमा रगत परीक्षण गराउनुपर्छ।

४. नियमित व्यायाम गर्ने, नुन, चिल्लो र चिनी कम खाने, चुरोट, सूर्ति नखाने, मोटोपन घटाउने, मानसिक तनाव नियन्त्रण गर्नेतर्फ लाग्नुपर्छ।

५. दैनिक प्रशस्त मात्रामा फलफूल र हरियो तरकारी खानुपर्छ।

६. धूमपान निषेधित सार्वजनिक स्थलहरू विस्तार गर्दै जान सम्बन्धित निकायहरूले सहयोग गर्नुपर्छ।

७. तरकारी र फलफूलमा विषादी र रसायन प्रयोग निरूत्साहित गरिनुपर्छ।

८. बढी गुलियो, नुनिलो, चिल्लो र तयारी खानाहरू (फास्टफुड) कम खानुपर्छ।

९. मानसिक तनाव र उत्तेजना नियन्त्रण गर्नुपर्छ।

१०. आफूभित्र प्रसन्नता, सन्तुष्टि, सहयोगी र दानी प्रवृत्ति विकास गर्न सके सुख र स्वास्थ्य दुवै पाउन सकिन्छ।

२०८० आश्विन १२, शुक्रबार प्रकाशित 1 Minute 229 Views

ताजा समाचार