२०८१ बैशाख १५ शनिबार

बाल दिवसमा आदर्श माविको वृहत र्याली र विविध प्रस्तुती

मेचीनगर । ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आज (शुक्रबार) आदर्श मावि इटाभट्टामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नाराका साथ विद्यार्थी र्यालीदेखि नृत्य तथा गायन, सचेतनामूलक नाटक प्रदर्शन लगायतका विभिन्न कार्यक्रम सम्पन्न भएको हो ।

‘सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार’ ‘बालमैत्री समाजको आधार उत्तरदायी समाज’ लगायतका विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर विद्यालय प्रांगणबाट निस्किएको विद्यार्थीहरुको वृहत र्याली इटाभट्टा चोक पुगेर पुनः विद्यालय प्रांगण फर्किएको थियो । र्‍याली पछि औपचारिकरुपमा सुरु भएको कार्यक्रममा विद्यार्थीले नृत्य, गायन, नाटक जस्ता प्रतिभा प्रस्तुत गरेका थिए ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पुणर् खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा समग्र विद्यार्थीको नेतृत्व गर्दै बाल क्लबकी अध्यक्ष प्रिया अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कक्षा ८ का विद्यार्थीहरुले प्रविधिको दुरुपयोग गर्दा निम्तिने समस्यालाई नाटकमा देखाए भने ३ कक्षाका नानीहरुले नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरे ।

कार्यक्रममा शिक्षक खगेन्द्र सुवेदीले गित प्रस्तुत गरे भने विद्यालयकी कप्तान कक्षा ९ की छात्रा सृष्टी कार्कीले विद्यार्थी मन्तव्य प्रस्तुत गरिन् । शिक्षक अभिभावक संघका अध्यक्ष भोला तिम्सिना, विद्यालयका सहायक प्रधानाध्यापक हेमेन्द्र निरौलालगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत विद्यालयकी शिक्षिका रुमा राजवंशीले गरेकी थिइन् भने सञ्चालन शिक्षक जीआर धितालले गरेका थिए ।

कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रमः

बाल दिवस कै अवसरमा विहानी शत्रमा कक्षा ११ का विद्यार्थीहरुलाई कक्षा १२ को तर्फबाट स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कक्षा १२ मा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई जनही तीन हजार रुपैयाँका दरले छात्रवृत्ती वितरण गरिएको थियो । छात्रवृत्तीलाई दाता विद्यालयका पूर्व विद्यार्थी गणेशप्रसाद मैनाली र हिमा मैनालीले प्रायोजन गरेका हुन् ।

विद्यार्थीहरुले गायन, नृत्य, कवितालगायतका प्रस्तुती दिएको कार्यक्रममा सभाध्यक्ष कक्षा १२ की छात्रा खुशीया राजवंशी र सञ्चालन ऐलिसा गुरागाईं, कुमारी चौहान र मानवहादुर दर्जीले संयुक्तरुपमा गरेका थिए ।

२०८० भाद्र २९, शुक्रबार प्रकाशित 0 Minutes 208 Views

ताजा समाचार