२०८३ जेष्ठ २१ बिहीबार

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै ४० प्रतिशत सदस्यको निवेदन

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरिएको छ।

एन्फामा आवद्ध ४९ सदस्य संघ तथा क्लबले अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका हुन्।

सदस्यहरूले एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारण सभा बोलाउनका लागि निवेदन दिएको बताएका छन्।

विशेष साधारणसभामा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्ने एजेन्डा राख्न उनीहरूले लेखेको निवेदनमा उल्लेख छ।

४० प्रतिशत सदस्यको निवेदनपछि अब २३ असोजसम्ममा विशेष साधारण सभा बोलाउनु पर्ने एन्फाको विधान उल्लेख छ। एन्फाले साधारणसभा नबोलाएमा आफूहरूले साधारण सभा आह्वान गर्ने पनि सदस्यहरूले लेखेको निवेदनमा उल्लेख छ।

साधारण सभामा दुई तिहाइ मत पुगेको अवस्थामा मात्र बर्खास्त हुन सक्ने प्रावधान छ।

उनीहरूले एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धरासयी बनाउन उद्दत रहेको र उनीहरू पदमा रहे नेपाली फुटबलको भविष्यमा नै क्षति पुग्ने निवेदकको आरोप छ।

उनीहरूले अध्यक्ष र महासचिवमाथि १९ आरोपसमेत लगाएका छन्। जसमा विशेष साधारण सभा भर्चुअलमार्फत् गर्न आह्वान गरेको,  बजेट पास नगरी अनाधिकृत रूपमा बिनाआवश्यक अख्तियारी आर्थिक करोबार गरेको, बोर्ड बैठकबाट अवैधानिक निर्णय गरेको लगायतका छन्।

गत वर्षको असारमा अध्यक्षमा निर्वाचित भएदेखि नै नेम्वाङ अल्पमतमा परेका थिए। पूर्वअध्यक्षद्वय कर्माछिरिङ शेर्पा र गणेश थापा पक्षका सदस्यको बहुमत हुँदा अध्यक्ष नेम्वाङले कार्य समितिबाट विभिन्न निर्णय गराउन सकस पर्ने गरेको छ।

२०८० भाद्र २५, सोमबार प्रकाशित 0 Minutes 348 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।