२०८३ जेष्ठ २१ बिहीबार

कोशी सरकारको आधिकारिकता विवाद पूर्ण इजलासमा पठाउन आदेश

१७ भदौ, काठमाडौं । कोशी प्रदेशको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस हुने भएको छ ।

आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको संयुक्त इजलासले मुद्दामा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त हुने आदेश दिएको हो ।

मुद्दाको अर्को पेशी यही भदौ १८ गते (सोमबार) लाई तोकिएको छ ।

कोशीका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको भूमिकामा रहेका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीको समेत मत लिएर विश्वासको मत पाएका थिए । तर सभाध्यक्षले विश्वासको मत दिनु असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ७ भदौमा कोशी सरकारलाई दीर्घकालीन असर पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

यसअघि कोशी सरकारको आधिकारिकता विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासले सुनुवाइ गरेको थियो । तत्कालीन सभामुख बाबुराम गौतमको समर्थन लिएर उद्धव थापा मुख्यमन्त्री नियुक्त भएको विवाद न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सुनुवाइ गरेको थियो ।

हेर्नुहोस् आदेश

२०८० भाद्र १७, आईतवार प्रकाशित 0 Minutes 319 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।