२०८३ जेष्ठ २९ शुक्रबार

कैदी सरूवाको विरोधमा झापा कारागारमा तनाव

झापा । एक जना कैदीलाई सुनसरीको झुम्का कारागार सरूवा गर्न लागेको विरोधमा झापा कारागारका कैदीबन्दीले कारागारभित्रै आगजनी गरेका छन्।

शुक्रबार दिउँसो ३ बजेतिर मनोज लावतीसहितका चार जनालाई  झुम्का सरूवा गर्न लाग्दा कैदीबन्दीले विरोध जनाउँदै कारागारमा हुलदंगा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

‘नाइके–भाइ नाइकेहरूलाई सरूवा गर्न लाग्दा तनाव भएपछि अहिलेलाई सरूवा पोस्टपन्ड गरिएको छ’, जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा रेग्मीले भने, ‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ।’

कैदीबन्दीहरूले कारागारभित्र मुढा बनाउन प्रयोग हुने टायरमा आगो बालेको बताउँदै रेग्मीले कुनै क्षति नभएको जानकारी दिए।

दिउँसो तीन बजेदेखि कारागारमा तनाव सुरू भएको थियो। त्यसक्रममा कारागार भित्रबाट ढुंगामुढा भएको थियो। कैदीबन्दीले प्रहरी र कारागार प्रशासनलाई भित्र पस्न दिएका थिएनन्।

‘सरूवा भएका कैदीलाई फेरि भित्रै पठाइएको छ,’ प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने, ‘अहिले अवस्था सामान्य भइसकेको छ।’

२०८० श्रावण १९, शुक्रबार प्रकाशित 0 Minutes 398 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।