वीरगन्ज र भैरहवा भन्सार कार्यालयबाट हुने अन्तर्राष्ट्रिय व्यापार घटेपछि समग्र भन्सारको राजस्वमा असर देखिएको छ।
यी भन्सार कार्यालयबाट हुने अन्तर्राष्ट्रिय व्यापारमा ३५ प्रतिशत र राजस्वमा ४० प्रतिशतले कमी आएको छ।

‘भन्सार राजस्वमा मुख्य योगदान वीरगन्ज र भैरहवा कार्यालयको छ। यहाँबाट संकलन हुने राजस्व घटेपछि समग्र राजस्वमै असर गरेको छ,’ भन्सार विभागका उपमहानिर्देशक सेवन्तक पोखरेलले भने।
भैरहवा कार्यालयबाट गत वर्ष जेठसम्म एक खर्ब ८ अर्ब रूपैयाँ राजस्व उठेको थियो। यो वर्ष ६९ अर्ब ६४ करोड रूपैयाँमा सीमित छ।
त्यस्तै वीरगन्ज कार्यालयबाट गत वर्ष जेठसम्म एक खर्ब ८८ अर्ब रूपैयाँ संकलन भएको थियो। यो वर्ष जम्मा एक खर्ब ४२ अर्ब रूपैयाँ संकलन भएको छ।
वीरगन्ज कार्यालय अन्तर्गत एकीकृत जाँच चौकीबाट गत वर्षभन्दा २३ प्रतिशत र लक्ष्यको तुलनामा ४१ प्रतिशत कम राजस्व उठेको छ। वीरगन्ज सुख्खा बन्दरगाहबाट उठ्ने राजस्व पनि लक्ष्यको ३६ प्रतिशत कम छ। भैरहवा भन्सारबाट लक्ष्यको ५० प्रतशित कम राजस्व उठेको छ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भैरहवा र वीरगन्जमा रहेका दुई भन्सार नाकाको योगदान ६७ प्रतिशत छ। यो वर्ष तीन खर्ब ४४ अर्ब रूपैयाँ राजस्व उठेकामा यी तीन कार्यालयबाट मात्रै दुई खर्ब ५१ अर्ब रूपैयाँ उठेको छ।
हाल २७ वटा भन्सार कार्यालय सञ्चालन छन्। वीरगन्जका दुइटा र भैरहवाबाहेक २४ वटा भन्सार कार्यालयको योगदान करिब ३३ प्रतिशत मात्रै छ।
कहाँ घट्यो राजस्व?
यी नाकाबाट प्रमुख रूपमा आयात हुने सामग्री भनेको यातायातका साधन र पेट्रोलियम पदार्थ हो। यी दुवैको आयात कम भएपछि राजस्व घटेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक डिलाराम पन्थीले बताए।
‘चोरीपैठारीका कारण पनि राजस्व घटेको विश्लेषण गरेको देखिन्छ। यथार्थमा वीरगन्ज भन्सारबाट सवारीसाधन, पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको आयात सबभन्दा धेरै हुन्छ। यी सामान चोरीपैठारी हुन सम्भव नै छैन,’ पन्थीले भने।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



