२०८१ बैशाख १७ सोमबार

दुई जनाले एक किलोमिटर हेर्नुपर्ने बाध्यताले सीमा सुरक्षामा ठूलो चुनौती : डीआइजी पोखरेल

झापा । सशस्त्र प्रहरी बल नेपाल कोसी प्रदेश बराह बाहिनीका डीआइजी अञ्जनीकुमार पोखरेलले दुई जना सशस्त्रले एक किलोमिटर सीमा नाका हेर्नुपर्ने बाध्यता कारण सीमा सुरक्षामा चुनौती थपिएको बताएका छन् ।

सोमबार भद्रपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हे.क्वा झापाको १६ औं स्थापना दिवसको उद्घाटन कार्यक्रममा बोल्दै डीआइजी पोखरेलले भारतीय खुला नाकासँग जोडिएको कोसी प्रदेशभरि १३ सयको हाराहारीमा सशस्त्र प्रहरीले सीमामा सुरक्षा प्रदान गरिरहेको बताएका छन् ।

कोसी प्रदेशको सुरक्षाका लागि भारततर्फ १३ हजार बढी भारतीय एसएसबी तैनाथ रहेको जानकारी गराउँदै डीआइजी पोखरेलले भने, ‘नेपालतर्फ दुई जना सशस्त्रले एक किलोमिटर हेर्नुपरेकोमा भारततर्फ २० देखि २५ जना एसएसबी तैनाथ हुन्छ, जसकारण सीमा सुरक्षामा सशस्त्रलाई ठुलो चुनौतीको सामना गर्नु परेको छ ।’

कोसी प्रदेशभरि ६० वटा बिओपी छ । जनशक्ति अभावका कारण सशस्त्र प्रहरीले दैनिक १६ देखि १८ घण्टा ड्युटी गर्नुपर्ने बाध्यता पनि रहेको डीआइजी पोखरेलले बताए ।

‘सशस्त्रले सीमा पिलरको सुरक्षा, दशगजा अतिक्रमण र सीमा बसोबास गर्ने नागरिकको सुरक्षामा विशेष ध्यान दिएका छौँ,’ उनले भने, ‘संगठनले पहाडी जिल्लामा रहेका सशस्त्रलाई आवश्यकता आधारमा सीमामा परिचालन गर्ने नीति अघि बढाएको छ, सोही नीति बमोजिम केही बिओपीहरुको स्तरोन्नति गर्दै प्रस्तावित गुल्ममा परिणत गरिसकेका छौँ ।’

सरकारले आगामी बजेटमार्फत प्रस्तावित गुल्महरूलाई (स्थायी) पदोन्नति गरेसँगै संरचना निर्माण र दरबन्दी समेत थपिनेमा आफू विश्वस्त छु । सङ्ख्या भन्दा पनि हामी गुणात्मकमा जोड दिनुपर्ने भएकोले संगठन सोही अनुरूप अघि बढिरहेको उनको भनाई छ ।
पछिल्लो समयमा सीमा नाकाबाट हुने गैर कानुनी क्रियाकलाप (चोरी तस्करी, मानव बेचबिखन, लागुऔषध तथा हातहतियार ओसारपसार) लाई रोक्न संगठनको निर्देशन बमोजिम सशस्त्र प्रहरीलाई खटाइएको बताउँदै उनले भने, ‘सुशासन र आर्थिक पाटोमा कुनै पनि सम्झौता नगर्न निर्देश गरिएको छ, त्यस्तो पाइएमा संगठनको नीति बमोजिम कारबाही गरिन्छ ।’

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हे.क्वा झापाका गणपति तथा एसपी देवराज अर्यालको अध्यक्षता भएको कार्यक्रममा स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो । साथै अवकाश प्राप्त र सहिद परिवारलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन इन्स्पेक्टर रामकुमार घिमिरेले गरेका थिए । टाइम्स अफ प्रदेशबाट

२०८० जेष्ठ ८, सोमबार प्रकाशित 0 Minutes 779 Views

ताजा समाचार