२०८१ बैशाख १६ आईतवार

बिर्तामोडको बुधबारे हटिया बजार खाली गराउन डोजर चलाइयो

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका– ५ स्थित बुधबारे हटिया बजार खाली गराउन डोजर चलाइएको छ । बुधबारे हटिया बजारका व्यवसायीहरूले बिर्तामोड नगरपालिकाको मौखिक तथा लिखित सूचनालाई पटक–पटक बेबस्ता गर्दा नगरपालिकाले आफ्नो स्वामित्वको जमिन खाली गराउन अन्ततः डोजर चलाएको हो ।

नगरपालिकाले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी एकै पटक सात वटा डोजर चलाउँदै बजारको पूर्व भागबाट घर टहरामा भत्काउन थालेको हो ।

बिर्तामोडका १० वटै वडाका ५४ जना जनप्रतिनिधिहरूले सोमबार बिहान बसेको विशेष बैठकले आजै दिउँसो १२ बजेबाट बजार खाली गराउने निर्णय गरेका थिए । त्यसअघि नगरपालिकाले बजार खाली गराउने विषयमा स्थानीय राजनीतिक दलहरूको सहमति लिइसकेका थियो । नगरपालिकाले डोजर चलाउन लागेको सूचना पाए लगतै घटनास्थल पुगेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलगायतको नेतृत्वमा व्यापारीहरूले केहीबेर डोजर रोक्ने प्रयास गरेका थिए ।

उनीहरूले डोजरमाथि नै चढेर रोक्न खोजेका थिए । तर, डोजरहरू एकसाथ बजार भत्काउन थालेपछि व्यापारीहरू भागाभाग भएका थिए । सुरक्षाकर्मीहरूलाई बल प्रयोग गर्नुपरेन । सोही क्रममा आक्रोशित बनेका व्यापारीहरूले एउटा डोजरको सिसा फुटाइदिएका छन् भने एउटाको चाबी थुतेका थिए । सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी तैनाथ गरी नगरपालिकाले डोजर चलाएपछि व्यापारीहरूले घर टहराभित्र रहेका आआफ्ना सरसामान धमाधम निकाल्न थालेका छन् ।

स्थानीय दलहरूको सहमतिबाट नगरपालिकाले गत माघ २६ गते २७ गते कार्यपालिका बैठकबाटै सो जमिन खाली गराउँदै बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण गर्ने भनी निर्णय गरेको थियो ।

भवन निर्माणमा ९० प्रतिशत लगानी नगर विकास कोषले गर्ने जनाइएको छ । आइतबार पत्राचार गर्दै नगर विकास कोषले लगानी गर्ने प्रतिबद्धता समेत जनाइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।

सो हटिया बजारमा १ बिगाहा ३ कट्ठा जमिनमा रहेको छ । सो बजारलाई नगरले आफ्नै स्वामित्वमा राखेर आवश्यक रेखदेख गर्दै आएको छ । सो क्षेत्रमा नगरको अनुमति बेगर जग्गा अतिक्रमण गरेर घर टहरा समेत बनाइएको थियो भने व्यावसायिक प्रयोजनका संरचनाहरूको भित्री किनबेच समेत चलिरहेको थियो । हटिया बजारमा ७० वटा घर, टहरा रहेका छन् ।

२०८० जेष्ठ ८, सोमबार प्रकाशित 0 Minutes 151 Views

ताजा समाचार