२०८१ बैशाख १५ शनिबार

कोसी प्रदेशमा पहिचानवादी आन्दोलन : शीर्ष नेता र सांसदलाई नै अवरोध

विराटनगर । प्रदेश–१ को नाम कोसी भएसँगै आन्दोलित बनेका पहिचानवादी पछिल्लो समय थप आक्रामक बन्न थालेका छन् । प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलनलाई बिट मारेर उनीहरूले दलका शीर्षस्थ नेताहरूलाई ठाउँ ठाउँमा अवरोध गर्न सुरु गरेका छन् ।

नामकरणबाट असन्तुष्ट बनेका पहिचानवादी मोर्चाका कार्यकर्ताहरूले पछिल्लो समय कोसी पक्षधर दलका सांसददेखि शीर्षस्थ नेतालाई लक्षित गरी आफ्ना गतिविधि बढाएका छन् । पछिल्लो पटक इलाममा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीलाई पहिचानवादीले कालोझण्डा देखाएका छन् । ओलीले प्रदेशसभाको पहिलो कार्यकालकै बेला गृहनगर दमकमा आयोजित कार्यक्रममा प्रदेश–१ को नाम कोसी राख्नुपर्ने भन्दै भाषण गरेका थिए ।

इलाम सदरमुकाममा बिहीबार आयोजित एमाले जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले कोसी प्रदेश नामकरणविरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नहुने जिकिर गरे । “कोसी नामले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकै ठाउँमा समेटेको छ । नाम खारेज माग गर्दै भइरहेको आन्दोलनले कुनै अर्थ छैन,” ओलीले भने, “अहिले प्रदेशको नामको विरोधमा भइरहेको प्रदर्शनमा आतंककारी क्रियाकलाप र उद्दण्डता देखिएको छ ।”

प्रदेश सबैको साझा भएकाले प्रदेशसभाको दुई तिहाई मतले साझा नाम कोसी नामकरण गरेको दाबी गर्दै उनले जनताको मत जितेर दुई तिहाई पुर्याउन आन्दोलनकारीलाई चुनौती दिए । “नाम परिवर्तन गर्ने हो भने भोट जित्नुस्, दुई तिहाई ल्याउनुुस्, परिवर्तन गर्नुस्, हामी मान्छौं,” ओलीले भने ।

ओली इलामको कन्यामबाट सदरमुकाम जाँदा मेची राजमार्गको गोदक खण्डमा आन्दोलनकारीले रुख ढालेर बाटो अवरोध गरेका थिए । त्यसक्रममा नौजना आन्दोलनकारी पक्राउ परेका थिए ।

झापाको बुधबारेमा भेला भएका पहिचानवादीले ओलीलाई कालोझण्डा देखाउने क्रममा भएको झडपमा प्रहरीसमेत घाइते भएका छन् ।

यसअघि पहिचानवादीले प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीलाई ओखलढुंगामा अवरोध गरे । सामुदायिक भवन उद्घाटनसहितका कार्यक्रममा सहभागी हुन गएका बेला कार्कीको सवारीमाथि अवरोध गर्दै पहिचानवादीले मुख्यमन्त्रीको गाडीमा लगाइएको राष्ट्रिय झण्डा थुतेर फ्याँकिदिएका थिए । मुख्यमन्त्री कार्कीले विधि र प्रक्रियाअनुरुप नै सबै दलको साझा सहमतिमा नामकरण गरिएको बताएका छन् । कार्की भन्छन्, “दुई तिहाई भन्दा बढी मतसहित नाम पारित भएको हो । लोकतन्त्रमा विरोध र समर्थन गर्न पाइन्छ । तर, नाम फेर्नै परे त्यसको पनि विधि छ ।”

पहिचानवादीको आन्दोलनका क्रममा मोरङ बेलबारीका पदम लिम्बू ‘लाजेहाङ’ को निधन भएपछि पहिचान पक्षधर झन् आक्रोसित बनेका छन् । उनीहरूले पालिका केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै अबको आन्दोलन सांसद र कोसी पक्षधर ठूला दलका नेतालाई अवरोध गर्नेमा केन्द्रित गरेका छन् । आन्दोलनको एक घटक किराँत मोर्चाका महासचिव डिल्ली मिभक भन्छन्, “हामीले तत्काललाई विराटनगर केन्द्रित आन्दोलन स्थगन गरी पालिकाहरूमा सांसद र नेतालाई बहिस्कार गर्ने कार्यक्रम अघि बढाएका छौं । सांसददेखि नेतासम्मलाई गाउँ छिर्न दिँदैनौं ।”

आन्दोलनकारीले यसअघि पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो सवार गाडीमा समेत आक्रमण गरेका थिए । गृहजिल्ला पाँचथरमा आयोजिक कार्यक्रममा सहभागी हुन गएका बेला आङ्बो चढेको गाडीमा ढुंगा प्रहार भएको थियो । खोटाङबाट निर्वाचित कांग्रेसका प्रदेशसभा सदस्य पाँचकर्ण राईमाथि खोटाङमा कार्यक्रमकै बेला कालोमोसो दल्ने प्रयास गरियो । त्यसक्रममा पहिचान पक्षधर कार्यकर्ता पक्राउ परे ।

पहिचानवादीले अहिलेलाई आन्दोलनको मोर्चा वडास्तरमा गठन गर्न बाँकी कार्यक्रम स्थगन गरिएको जनाइएको छ । कोसी पुनःनामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम आफूहरू निर्णायक आन्दोलनको तयारीसाथ अझ सक्रिय भएको बताएका छन् ।

फागुन १७ गते नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाका दुई तिहाइभन्दा बढी प्रदेशसभा सदस्यको मतसहित कोसी नाम पारित भएको थियो । नेकपा एकीकृत समाजवादी र जसपाले भने पहिचानकै आधारमा कोसी नाम राख्नुपर्ने भन्दै आफ्नै नाम प्रस्ताव गरेका थिए ।

२०८० बैशाख १५, शुक्रबार प्रकाशित 0 Minutes 164 Views

ताजा समाचार