२०८३ जेष्ठ २१ बिहीबार

भारतमै पक्राउ परे खालिस्तानी नेता अमृतपाल सिंह

काठमाडौँ — खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेको पञ्जाब प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने ‘वारिस पञ्जाब दे’ अभियानको नेतृत्व सिंहले गरिरहेका थिए ।

हिन्दुस्तान टाइम्सले प्रहरी स्रोतलाई उदृत गर्दै प्रकाशित गरेको समाचार अनुसार उनलाई आसामको दिब्रुगढ जेलमा पठाउने तयारी छ । त्यहाँ उनका अन्य सदस्यहरुलाई पहिले नै पक्राउ गरि राखिएको छ । राष्ट्रिय सुरक्षा ऐन अनुसार उनलाई पञ्जाब प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।गत चैत दोस्रो साता सिंह नेपालमा बसेको हुनसक्ने आशंका गर्दै काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारसँग उनलाई विदेश जारी अनुमति नदिन आग्रह गरेको थियो । उनी पञ्जावबाट नेपाल आएको दाबी दूतावासको थियो ।।

भारतीय दूतावासले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा पञ्जाबबाट फरार भएका सिंहलाई नेपाल हुँदै तेस्रो मुलुक यात्रा गर्न सक्ने भन्दै अनुमति नदिन आग्रह गरेको थियो । पत्रमा सिंह नेपालमा लुकेर बसेको भन्दै नेपालबाट भाग्न खोजे पक्राउ गर्न आग्रह गरिएको थियो ।

सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम रहेको थियो । भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन । विभिन्न देशमा भने पृथकतावादी अभियानका समर्थन रहेका थिए ।

३० वर्षीय सिंहले भारतभित्र खालिस्तानी पृथकतावादी अभियान पुन: जगाउने अभियान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ । त्यसलगत्तै विभिन्न देशमा खलिस्तान समर्थकहरुको गतिविधि पनि बढेको छ । केही समय अघि बेलायतस्थित भारतीय दूतावासमा खालिस्तान समर्थकहरुले भारतीय झण्डा निकालेर खालिस्तानको झण्डा फहराएका थिए ।

२०८० बैशाख १०, आईतवार प्रकाशित 1 Minute 363 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।