२०८१ बैशाख १६ आईतवार

नयाँ वर्ष २०८० सुरु

झापा । आज विक्रम सम्वत २०८० को पहिलो दिन । नयाँ वर्ष २०८० साल आजबाट शुरु भएको छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने सङ्क्रान्तिलाई मेष अर्थात वैशाख सङ्क्रान्ति भनिन्छ ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै र मिष्ठान्न भोजन, भेटघाट गरी आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ ।
सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्सङ्कल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।
विक्रमादित्यले चलाएको सम्वत भएकाले यो सम्वतलाई विक्रम सम्वत भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।
विक्रम सम्वत १३५ देखि शक सम्वत, सम्वत ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरु बताउँछन् ।
आजको दिन झापाका पर्यटकीय क्षेत्रहरु भरिभराउ हुने गरेका छन् । सुरुंगाको जामुनखाडी, हेप्पी ल्यान्ड, दोमुखा, मेचीनगरको मिनी माउन्टेन, कृष्णथुम्की, पातालगंगा लगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा रमाउनेहरुको भीड लाग्ने गरेको छ । नेपाली समुदायले नयाँ वर्षलाई विशेष अवसरको रुपमा लिने भएकाले पनि यसको महत्व बढेर गएको छ । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइने परम्परा छ ।

२०८० बैशाख १, शुक्रबार प्रकाशित 0 Minutes 228 Views

ताजा समाचार