२०८१ बैशाख १५ शनिबार

मेचीनगरमा जनसंख्या वृद्धिसँगै घर थपिने क्रम पनि बढ्यो

मेचीनगर । मेचीनगरक्षेत्रमा पछिल्लो समय भवन निर्माणको क्रम अत्यधिकरुपमा वृद्घि हुन थालेको छ । नगरपालिका नक्शापास शाखाको अभिलेखले यसलाई पुष्टि गर्दछ । मेचीनगरमा जनसंख्या वृद्धिसँगै घर थपिने क्रम पनि बढेको हो । नगरको कुल जनसंख्या १ लाख ३३ हजार ७३ रहेको छ । २०६८ को जनगणना अनुसार १ लाख ११ हजार ७ सय ३७ थियो ।

तत्कालिन तथा बर्तमान स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेबमोजिम मेचीनगर नगरपालिकाको लागि विभिन्न समयमा योजनाबद्घ शहरी विकासका लागि तयार पारिएका गुरुयोजनाहरुमा निर्दिष्ट दीर्घकालिन विकासको सोच ‘मेचीनगर नेपालको पूर्वीद्वार, कृषि र पर्यटन विकासको अधार’ लाई टेवा पुर्याउन विद्यामान भू—उपयोगको प्रभाबकारी उपयोग तथा बस्ती विकासको प्रवृत्तिको पुनरावलोकनका आधारमा नगर क्षेत्रमा हुने निर्माण गतिबिधिलाई व्यवस्थित हिसाबले नियमन गर्न गराउन योजना तथा भवन मापदण्ड सम्बन्धि परिमार्जित बिनियम २०७४ बनाएको छ ।

मेचीनगर नगरपालिकाको योजना तथा भवन मापदण्ड सम्बन्धी विनियम २०७४ को अधिकार क्षेत्र मेचीनगर नगरपालिकाको निर्दिष्ट भौगोलिक सिमानाभित्र सिमित हुन्छ । यो मापदण्ड सम्बन्धी विनियम नगरसभाले पारित भएको मितिदेखि लागू भएको बताइएको छ ।

यो विनियम मेचीनगर नगरपािलकाको २०७४ मंसिर २३ को निर्णय अनुसार नगरसभामा पेश भई २७ पुसमा स्वीकृत भै बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बनिध आधारभूत निर्माण मापदण्ड २०७२ को भावना विपरीत नहुने गरी विनियम तयार गरिएको छ ।

नगरपालिकाको घर नक्शाशाखाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/२०७९ मा यसक्षेत्रमा घरनक्शाका लागि ३ सय ८९ वटा निवेदन दर्ता भएका थिए । त्यसमध्ये ३ सय ६० वटाको निर्माण स्वीकृत भएको घरनक्शा शाखाले जनाएको छ । त्यस वापत कार्यालयले ९९ लाख ५२ हजार ६ सय ७९ रुपैयाँ राजस्व संकलन गरेको राजस्व शाखाले जनाएको छ ।

यसैगरी चालु आवको चैत तेस्रो सातासम्ममा कुल २ सय २१ वा नयाँ दर्ता र अघिल्लो आवमा सरी आएका २९ गरी कुल २ सय ५० वटा निवेदनमध्ये १ सय १६ वटाले निर्माण स्वीकृत पाएको घर नक्शापास उपशाखा प्रमुख सञ्जयकुमार ढुङ्गानाले जानकारी दिनुभयो । बाकी कार्यान्वयनको चरणमा छन् । नगरमा आवासीय तथा व्यापारिक प्रयोजनका घरहरू बढी निर्माण भएका छन् । आवासिय तथा व्यापारिक प्रयोजनका घरहरूले नगरपालिकाको मापदण्ड कार्यान्वयन गरेका छन् ।

नगरपालिकाले मापदण्डलाई कडाइका साथ पालना गराउन अनुगमन गरिरहेको नगरस्तरीय अनुगमन समिति संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो । मेचीनगरभित्र भवन आचारसंहिता लागू भए÷नभएको इञ्जिनीयरबाट नियमित अनुगमन हुने गरेको छ । आचारसंहिताअनुसार भवन निर्माण नभएमा सुधार्नका लागि आग्रह गर्ने गरिएको छ । आग्रह गर्दा पनि आचारसंहिताअनुसार भवन निर्माण नभएमा नगरपालिकाको नियम अनुसार कारवाही हुने छ । सरोकारवाला सबै निकायसँग सहकार्य हुँदा मापदण्ड कार्यान्वयन गराउन सकिएको हो । नगरपालिकाले भवन आचारसंहिताको कडाइका साथ पालना गराएको उपप्रमुख उप्रेतीको भनाई छ । नगरको सुन्दरता जोगाउनेतर्फ नगरपालिकाको सक्रियता देखिएको देखिएको छ ।

पछिल्लो समयमा मेचीनगरका विभिन्न वडामा पाचतारे होटलदेखि मिनी क्यासिनोसम्म सञ्चालनमा आउन थालेपछि सुविधा सम्पन्न र निक्कै ठुला भवन निर्माणको कार्य तीव्ररुपमा अघि बढेको उपशाखा प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । चालु आवमा कार्यालयले घरनक्शाबाट मात्र ७ करोड ८६ लाख ३८ हजार ४ सय ६९ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले पहिलो तलासम्मको नक्शापासमा प्रति स्क्वायर फुट ५ रुपैयाँ र त्यो भन्दा बढी भए प्रति स्क्वायर फुट ६ रुपैयाँ दस्तुर लिने गरेको छ ।

मापदण्ड पालन नगरी बनेको कुनै पनि भवनलाई नागरपालिकाले पूर्ण वा आंशिक रुपमा भत्काउन लगाउने वा भत्काउने छ । भवनको स्वामित्वकर्ताले आनाकानी गरेको कारणले मापदण्ड विपरित निर्माण भएको कुनै भवन नगरपालिकाले भत्काउनु परेमा वा भत्काउन लगाउनु परेमा भत्काउन लाग्ने खर्च निज स्वामित्वकर्ताबाट सरकारी बाँकी सरह असुल उपर गरीने मापदण्डमा उल्लेख छ ।

नौमहिनामा सात करोढ रुपैयाँभन्दा बढी राजस्व संकलन

गत आर्थिक वर्ष २०७८/२०७९ मा शीर्षकगत आवधिक आय संकलन विवरण अनुसार कार्यालयले १० करोड ३ लाख ७१ हजार ८ सय ४४ रुपैयाँ ८२ पैसा राजस्व संकलन गरेको थियो । चालु आवको चैत तेस्रो सातासम्म कार्यालयले कुल ७ करोड ८६ लाख ३८ हजार ४ सय ६९ रुपैयाँ ४४ पैसा राजस्व संकलन गरेको छ ।

कार्यालयल व्यवसाय कर, सम्पति कर, अन्य कर, अन्य दस्तुर, बहाल कर, व्यवसाय रजिष्ट्रेशन कर, विज्ञापन कर, सिफरीस दस्तुर, संस्थागत सम्पतिमा लाग्ने कर, सरकारी सम्पतिको बहालबाट प्राप्त आय, शिक्षा सेवा शुल्क वैदेशिक अध्ययन, शिक्षा सेवा शुल्क शैक्षिक संस्था, भुमि तथा मालपोत कर, व्यक्तिगत घटना दस्तुर, नाता प्रमाणित, नक्शापास, न्यायिक दस्तुरलगायत विभिन्न शीर्षकमा राजस्व संकलन गर्ने गरेको छ ।

२०७९ चैत्र २७, सोमबार प्रकाशित 0 Minutes 370 Views

ताजा समाचार