२०८१ बैशाख १५ शनिबार

बेरिएट्रिक सर्जरीबाट कसरी मोटोपन घटाइन्छ ?

मोटोपन घटाउन प्रयोगमा आएको क्लिनिकल विधि हो, बेरिएट्रिक सर्जरी । यद्यपि यसमा चिरफार गरिंदैन । बरु दूरबीनको माध्यमबाट शल्यक्रिया गरिन्छ । यसलाई सामान्य भाषामा ‘वेट लस सर्जरी’ भनिन्छ ।

मान्छेको मोटोपन नाप्ने वैज्ञानिक इकाइ हो, बडी मास इन्डेक्सन (बीएमआई) । बीएमआई निकाल्नका लागि मान्छेको उचाइ मिटरमा र तौल किलोमा नापिन्छ । यसअन्तर्गत २४ दशमलव ९ सम्मको बडी मास इन्डेक्सलाई सामान्य मानिन्छ । बीएमआई २५ देखि २९ दशमलव ९ सम्मलाई मोटोपन भएको मानिन्छ । यदि बीएमआई ३० भन्दा माथि छ भने अत्यधिक मोटोपन भएको मानिन्छ । यस्ता व्यक्तिलाई मुटु, पक्षघात, मधुमेहको एकदमै जोखिम हुन्छ ।

बेरिएट्रिक सर्जरी बीएमआईको मापन गरेर मात्र गरिन्छ । अतः बीएमआई २७ भन्दा माथि भएकालाई विश्व स्वास्थ्य संगठनले बेरिएट्रिक सर्जरीका लागि अनुमति दिएको छ । मोटोपनको कारण हुन सक्ने स्वास्थ्य जटिलताबाट बच्न बेरिएट्रिक सर्जरी उपयुक्त हुन्छ । असामान्य तौलको कारण हुन सक्ने बाँझोपनदेखि मधुमेहसम्म नियन्त्रणमा यो विधि उत्तम मानिएको छ ।

शल्यक्रियाअघि के गरिन्छ ? 

शल्यक्रियाअघि रगत परीक्षण, कलेजो कार्यक्षमता, मिर्गौला, मुटुलगायत परीक्षण गराइन्छ । त्यस्तै, आइरन र भिटामिनको कमी भएका बिरामीलाई त्यसको औषधि दिएर १५ दिनपछि सामान्य स्थिति भएपछि मात्र शल्यक्रिया गरिन्छ । मानसिक रोग सिजोफ्रेनियाका बिरामी, क्यान्सर जस्ता जटिल रोग लागेका र कुनै रोगले ग्रसित गम्भीर अवस्थाका बिरामीमा भने यो शल्यक्रिया गर्न मिल्दैन ।

कसरी गरिन्छ शल्यक्रिया ?

बेरिएट्रिक शल्यक्रिया अन्तर्गत पाचनतन्त्रमा केही परिवर्तन गरिन्छ । यसले उक्त व्यक्तिले लिने कुल क्यालोरीमा कमी आउँछ वा पोषक तत्व अवशोषित हुने प्रक्रिया धीमा गराइन्छ । यो सर्जरी गरेको दुई–तीन वर्षमा मोटोपन क्रमशः नियन्त्रण हुँदै जान्छ ।

यसको शल्यक्रिया डेढदेखि दुई घण्टाको अवधिमा सकिन्छ । त्यसको चार घण्टापछि बिरामी हिंडडुल गर्न सक्ने हुन्छन् । ४८ घण्टामा बिरामीलाई डिस्चार्ज गरिन्छ । त्यसपछि उनीहरु आफ्नो दैनिक काम गर्न सक्छन् ।

विश्वभरको सर्जरी विधिमा सबैभन्दा जोखिम कम हुने शल्यक्रिया विधिको रुपमा बेरिएट्रिक सर्जरीलाई लिइन्छ ।

शल्यक्रियापछि

शल्यक्रिया गरेका बिरामीले एक सातासम्म तरल पदार्थको मात्रै सेवन गर्नुपर्ने हुन्छ । यो समयमा उनीहरुमा भोक लाग्ने र शक्ति कम हुने हुँदैन । त्यसपछि केही दिनसम्म पिसेको खानेकुरा, १५ दिनपछि जाउलो गर्दै चिकित्सकको सल्लाह बमोजिम क्रमिक रुपमा अन्य आहारसमेत खान सक्छन् । एक महिनाको अवधिसम्म व्यक्ति सामान्य जीवनमा फर्कन सक्छन् ।

के छ साइड इफेक्ट ?

बेरिएट्रिक सर्जरीपछि खासै साइड इफेक्ट देखिएको छैन । इतिहास हेर्दा १० हजारमध्ये एक जनामा मात्रै यसको समस्या देखिएको छ । कसैकसैलाई संक्रमण हुने वा रक्तश्राव हुने देखिएको छ ।

कति लाग्छ शुल्क ?

यो सर्जरीको चार लाख रुपैयाँसम्म पर्छ । उपकरण अमेरिकाबाट आयात गरिने र एक जनालाई प्रयोग गरेपछि अर्कोमा प्रयोग नहुने नभएकाले यसको शल्यक्रियाको लागत महंगो पर्न जान्छ । अनलाइनखबर

२०७९ चैत्र २७, सोमबार प्रकाशित 0 Minutes 190 Views

ताजा समाचार