२०८१ बैशाख १७ सोमबार

झापामा घरेलु तथा साना उद्योगको सेवा अनलाइनबाट शुरु

झापा । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह शुरु गरेको छ ।

कार्यालय परिसरमा शुक्रबार आयोजिक एक कार्यक्रमका बीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कार्यालयको उद्योग तथा वाणिज्य प्रशासन प्रणाली (आसीएएस) को शुभारम्भ गरे ।
अनलाइनको मध्यमबाट सेवा प्रवाह छिटो-छरितो र सुशासन कायम गर्न झापाबाट उद्योग तथा वाणिज्य प्रशासन प्रणालीको शुरुवात गरिएको मन्त्री सिटौलाले बताए । “आजदेखि झापाबाट शुरुवात गरेका छौं”, उनले भने, “अब क्रमशः प्रदेशभरि अनलाइन प्रणाली सुचारु हुनेछ ।”

अब कार्यालयद्वारा प्रदान गरिने नयाँ दर्ता, नवीकरण, प्रतिलिपि, नाम सच्याउने लगायतका उद्योग तथा वाणिज्य सम्बन्धी सबै सेवा अनलाइनबाटै हुने कार्यालयका निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए । राजश्व बुझाउन पने कार्यालयमै जानुपर्ने छ । राजश्वलाई पनि चाँडै अनलाइनबाटै गर्ने व्यवस्था हुने उनको भनाइ छ ।

घरेलु तथा साना उद्योग कार्यालयको सेवाप्रवाह छिटो-छरितो र प्रभावकारी बनाउन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कोशी प्रदेशले आसीएएस प्रणालीको विकास गरेको हो कार्यालयका कर्मचारी चन्द्र पौडेलले बताए ।

कार्यक्रममा संविधानसभा सदस्य पूणर्सिंह राजवंशी, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक राम कृष्ण श्रेष्ठ, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टलगायतले सरकारी सेवालाई चुस्त-दुरुस्त र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिए ।

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित 1 Minute 956 Views

ताजा समाचार